काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। सूचीकृत भएसँगै लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न सक्ने छन्। कम्पनीले गत ११ गते सिडिएससीमा उक्त शेयर अभौतीकरण गरेको थियो।
कम्पनीको प्रमुख शेयरधनीहरुमा नेपाल सरकार, बीमा कम्पनीहरु (जीवन तथा निर्जीवन तथा अन्य संस्थागत लगानीकर्ता गरी ३३ जना संस्थापक शेयरधनीको आठ करोड चालीस लाख कित्ता र सर्वसाधारणको एक करोड साठी लाख कित्ता रहेको छ।
सर्वसाधाण तर्फ २१ जना कर्मचारीहरुको ७३ हजार पाँच सय किता, १९ वटा सामूहिक लगानी कोषको आठ लाख कित्ता तथा तीन लाख ९० हजार ६ सय ३८ जना सर्वसाधारणको एक करोड ५१ लाख छब्बीस हजार पाँच सय कित्ता सूचीकृत भएको हो।
साधारण तथा संस्थापक शेयरको लागि अन्तर्राष्ट्रिय स्तरको परिचय अंक साधारण शेयरका लागि NPE353A00000 र संस्थापक शेयरका लागि NPE353A40006 समेत प्राप्त भएको छ। नेपाल स्टक एक्सचेन्जमा कारोबार हुनसक्ने गरी यस कम्पनी र नेप्सेका बीचमा सूचीकरणको सम्झौता सम्पन्न भएको छ।
विश्वव्यापी नोबेल कोरोना भाइरस प्रकोपको महामारीमा सरकारद्वारा लागू गरिएको लकडाउनमा सुरक्षाका सम्पूर्ण उपायहरु अपनाई बाँडफाँड, अभौतीकरण र सूचीकरण सम्पन्न गरिएको र आगामी दिनमा नेपाल स्टक एक्सचेन्ज मार्फत कारोबार हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।