काठमाडौँ- लकडाउनको मोडालिटी परिमार्जन गर्न बसेको मन्त्रिपरिषद बैठक बिना निष्कर्ष टुंगिएको छ। बेलुका ६ बजेदेखि सुरु भएको मन्त्रिपरिषद् बैठक राती १० बजेसम्म लकडाउनबारे छलफल भएपनि कुनै निर्णय हुन नसकेको एक मन्त्रीले बताए। लकडाउन मोडालिटीका विषयमा कुनै निर्णय हुन नसकेपछि भोलि बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको ती मन्त्रीले बताए।
लकडाउनको पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ पटकमा कुन क्षेत्रलाई खुला गरेर जाने भन्ने विषयमा छलफल भएपनि कुनै निर्णय हुन नसकेको ती मन्त्रीले बताए। ‘कोरानो संक्रमितको संख्या र मृत्यु हुनेको संख्या एकपछि अर्को गर्दै वृद्धि भइरहेको छ,’ ती मन्त्रीले भने, ‘अब कुन व्यापार/व्यवसाय, उद्योग/धन्दा कलकारखना, स्कुल/कलेज, यातायातलगायत क्षेत्र कसरी खोलेर जाने भन्ने विषयमा अलमल भयो। अन्तमा पर्याप्त छलफल गरेर भोलि टुंगो लगाउने भनियो।’
कोरोना संक्रमित बढ्दै गएकाले के गर्ने भन्ने विषयमा प्रधानमन्त्री आफैमा अलमल भएको ती मन्त्रीको भनाइ छ। ‘लकडाउन खुकुलो बनाउने चरणचरणमा के के गर्ने भन्ने विषयमा सबै प्रस्ताव गरिएको छ। भोलि खोल्दा स्थिति के हुन्छ भन्ने भयो,’ उनले भने, ‘हामीले पनि आफ्ना कुरा राख्यौँ। उहाँले पनि आफ्ना कुरा राख्नु भयो। प्रधानमन्त्रीज्यू के गर्ने भन्नेमा निर्णयमा पुग्न सक्नुभएन।’
'कोभिड क्राईसिस म्यानेजम्यान्ट सेन्टर (सिसिएमसी)'ले असार १ गतेदेखि लागू हुने गरी तयार पारेको कार्ययोजनामा पाँच फेजमा लकडाउन खुला गर्ने प्रस्ताव तयार गरेको थियो। सिसीएमसीले असार १ गतेपछाडि आंशिक रूपमा हवाइ उडान सुरु गर्न प्रस्ताव गरिएको छ। यसमा कृषि उत्पादनसँगै दूग्ध पदार्थ, तरकारी फलफूलको बिक्री वितरण सुरु गर्न दिइने भनिएको छ। सामाजिक दूरी कायम गर्दै कृषि क्षेत्रलाई खुला गरिने भनिएको छ।
त्यस्तै, दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरुलाई आशिंक रुपमा खुला गर्ने प्रस्ताव गरेको छ। यस्तै पहिलो चरणमा निजी सवारी साधनबाहेक अरु साधानलाई बन्द गरिने भएको छ। पहिलो चरणको लकडाउन असार १ गतेदेखि १४ गतेसम्म हुने भएको छ।
पहिलो चरणमा खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा दोस्रो चरणको लकडाउनमा प्रवेश गर्ने भनिएको छ। १५ असारदेखि मिडिया क्षेत्रसंगै राहत सहायता केन्द्रहरू खुला गर्न सकिने प्रस्ताव गरिएको छ। उक्त चरणमा जीमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालयहरू भने भने आंशिक रूपमा मात्रै खुला गर्ने प्रस्तावमा छलफल भएको थियो। तर धार्मिक स्थल, खेलकुदसँग सम्बधित केन्द्र, ब्युटी पार्लर, सैलुन लगायतलाई पूर्ण रुपमा बन्द गर्ने भनिएको छ।
तेस्रो चरणमा असार २८ गतेपछाडि कृषि क्षेत्र,दैनिक उपभोग्य सामग्री बिक्री–वितरण केन्द्र आदि पूर्णतः खुला गर्ने प्रस्ताव गरिएको छ। यस्तै बाह्यतर्फ हवाइ उडान र सार्वजनिक यातायात सेवा पनि सुरु गर्न सकिने भनिएको छ।
चौथो तहमा धार्मिक, जमघटस्थलबाहेक सबै ठाउँ खुला गर्न सकिने प्रस्ताव गरिएको छ। यस चरणमा बैंक तथा वित्तीय संस्था, खेलकुद फेन्सी पसल, ब्युटिपार्लर, कपाल काट्ने केन्द्र सैलुन आदि खोल्न दिइने योजना बनाईएको छ। पाचौँ चरणमा विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवाहरु खुला गर्ने योजना बनाइएको छ। सिसिएमसीले यो प्रस्ताव तयारी पारी मन्त्रिपरिषद्मा पेस गरेको भएपनि यसबारे कुनै निर्णय भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।