तस्बिर : रेडियो मालिका
काठमाडौं- भारतबाट आएका नागरिकहरूलाई लिएर कालीकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान कर्णालीमा खसेको सो टिपरमा रहेका दुई जनाले ज्यान गुमाएका छन् भने अन्य दुई जना बेपत्ता छन्।
दुर्घटना भएको जानकारी पाउने बित्तिकै उद्धारको सुरु गरिएको र हालसम्म २ जनाको शव पाइएको तथा दुई जना बेपत्ता रहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले बताए। बाँकी ३५ जनाको भने उद्धार गरिएको छ। टिपरमा ३९ जना रहेको गैह्रेले बताए।
रास्कोट नगरपालिका-२ की २३ वर्षीया सर्मिला सार्की र सोही स्थानकी २१ वर्षीया थुम्की सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। बेपत्ता हुनेहरुमा रास्कोट नगरपालिका-३ का मन्ना कुमाल र सरिता सार्की हुन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार १२ जना घाईते छन्। घाईते हुनेहरुमा रास्कोट नगरपालिका-८ का अशोक परियार, वडा नं. २ का गोविन्द सार्की, अनीता सार्की, निस्पता सार्की, विवेक सार्की, मीन सार्की, प्रजे सार्की, देवराज सार्कीलगायत छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले काठमाडौं रिफर गरिएको छ। रिफर गरिएकाहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।
बाँकी १० घाइतेको भने जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ। दुर्घटनास्थलबाट २३ जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। उद्धार गएका मध्ये १८ जनालाई रास्कोट पठाइसकिएको छ भने ५ जना भने बेपत्ता भएकाहरुका नजिकका आफन्तहरु भएकाले घटनास्थलमा नै छन्।
घाइतेहरूलाई कालीकोट अस्तपालसम्म ल्याउन प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफै घटनास्थल पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।