काठमाडौं– मेडिकल सामग्री खरिदमा बजार मूल्यभन्दा महंगो तिरेको नेपाली सेनाले स्वीकार गरेको छ। गुणस्तरीय सामग्री ल्याएको दाबी गर्दै सेनाले महंगो मूल्य परेको तर घोटाला भने नभएको प्रतिक्रिया दिएको हो।
विषम परिस्थिति, माग र आपूर्तिको फरक परिवेश र गुणस्तरजस्ता विषयको तुलना हुन नसक्ने दाबी गर्दै आफूले ल्याएका मेडिकल सामग्री गुणस्तरीय रहेको सेनाको सेनाको छ। सेनाले गुणस्तरीय सामग्री लिँदा बढी मूल्य तिर्नुपरेको तर्क गर्दै पारदर्शिताका विषयमा उठाएको प्रश्नमा ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल लाइभले सेनाले जिटूजी मार्फत् किनेका मेडिकल सामग्री बजार मूल्यभन्दा धेरै गुणा महंगो भएको समाचार प्रकाशन गरेको थियो। सेनाले जिटूजीमार्फत् किनेका मेडिकल सामग्रीमा एक अर्बभन्दा बढी रुपैयाँ बजारमूल्यभन्दा अतिरिक्त तिर्नुपरेको उक्त समाचारमा उल्लेख गरिएको थियो। कुन सामग्रीमा कति प्रतिशतसम्म बढी तिरेको भन्दै सूची सार्वजनिक समेत गरिएको छ।
‘अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारमा गुणस्तर प्रमाणित गर्न नसकिने विभिन्न सामग्रीहरू फरक–फरक मूल्यमा उपलब्ध भइरहेको अवस्थामा नेपाली सेनाले चीनको नेसनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसन बमोजिम मान्यताप्राप्त सामग्री मात्रै आयात गर्ने व्यवस्था मिलाएको छ। विषम परिस्थिति, माग र आपूर्तिको फरक परिवेश र गुणस्तर जस्ता विषय तुलना गर्न सकिँदैन,’ नेपाल लाइभमा प्रकाशित समाचारमा प्रतिक्रिया जनाउँदै सेनाले मूल्यका विषयमा भनेको छ।
चीन सरकारबाटै तोकिएको सरकार नियन्त्रित कम्पनीबाट प्राप्त मूल्यसूची नेपाल सरकारका सम्बद्ध सबै निकाय (रक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्रको समेतबाट स्वीकृत भएको सेनाले जनाएको छ।
आन्तरिक खरिद निर्देशिकाअनुसार सरोकारवाला सम्मिलित खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति समेत गठन गरी खरिद भएकाले बढी मूल्य परेकोमा नेपाली सेनालाई मात्रै दोष लगाउन नहुने तर्क गरिएको छ। सरकारले चैत्र १६ गते जीटूजीमार्फत् मेडिकल सामग्री किन्ने निर्णय गरेको थियो। जसको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो।

नेपाली सेनाले १५ प्रकारका मेडिकल सामग्रीमा मात्र १ अर्बभन्दा बढी रकम महंगो तिरेको छ। सेनाले ८४ प्रकारका मेडिकल सामग्री खरिदका लागि स्वीकृति पाएको छ। यीमध्ये दुई तिहाइ सामग्री नेपाल आइसकेको सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।