काठमाडौं- सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले बजेट पारित गरेको हो।
कांग्रेस, राजपा र समाजवादीले बजेटको विपक्षमा मतदान गरेका छन्। प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेका थिए। जसमा नेकपाका सांसदहरूले पक्षमा मतदान गरे भने प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरूले विपक्षमा मत जाहेर गरेका थिए।
अघिल्ला वर्षमा बजेट असारको अन्तिमतिर स्वीकृत हुने भए पनि यसपटक कोरोनाका कारण जेठमै बजेट स्वीकृत भएको हो। प्रतिनिधिसभाले पारित गरेको विनियोजन विधेयकलाई राष्ट्रियसभाले १५ दिनभित्र स्वीकृत गरेर पठाउनुपर्नेछ।
सरकारले आगामी आर्थिक वर्षमा चालु खर्च ९ खर्ब ४८ अर्ब, पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्था खर्च बापत २ खर्ब ७२ अर्ब छुट्याएको छ।
सरकारले बजेटको स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, बाह्य ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २ खर्ब २५ अर्ब लिने तयारी गरेको छ।
आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश गरेका थिए।
प्रतिनिधिसभाबाट पारित भएपछि बजेटमाथि राष्ट्रिय सभामा छलफल हुनेछ। राष्ट्रिय सभामा पनि मन्त्रालयगत विनियोजनमाथि छलफल हुने कानूनी व्यवस्था छ। राष्ट्रिय सभाबाट पनि बजेट पारित भएपछि सरकारलाई खर्च गर्न बाटो खुल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।