काठमाडौं- बैंकहरुमा पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको 'रिभर्स रिपो' जारी गरेको छ। बैंकले सात दिन अवधिको लागि राष्ट्र बैंकले उक्त पैसा तान्न लागेको हो। पछिल्लो समय लकडाउनका कारण नयाँ कर्जा प्रवाह नहुँदा बैंकहरुमा अधिक तरलता रहेको छ।
बैंकमा पैसा थुप्रिँदै गएपछि बैंकहरु निक्षेपको व्याजदर घटाइरहेका छन्। कतिपय विकास बैंकले लक डाउन अगाडि ८/९ प्रतिशत व्याज दिएका निक्षेपकर्तालाई ३/४ प्रतिशतमा झरेको सूचना दिन थालेका छन्। नयाँ कर्जाको माग छैन। तर बैंकहरुमा निक्षेप थुप्रिरहेको छ।
खाद्यान्न, औषधि तथा अन्य आवश्यकीय सेवा प्रदान गर्ने व्यवसायीले बैंकमा पैसा जम्मा गरिरहेका छन्। साथै विदेशबाट रेमिट्यान्स पनि आइरहेको छ। वैदेशिक रोजगारमा गएका नेपालीले पठाएको रेमिट्यान्स खर्च हुन सक्ने अवस्था छैन।
बैंक व्याजदर मुद्रास्फितीभन्दा माथि हुनुपर्ने मान्यता रहेको छ। तर बैंकहरुले नयाँ कर्जा प्रवाह नहुँदा व्याज खर्च धान्न नसक्ने भन्दै निक्षेपको व्याजदर घटाइरहेका छन्। राष्ट्र बैंकले बैंकमा तरलताको अभाव भयो भने रिपो जारी गर्छ। केही वर्षदेखि बैंकहरुमा तरलताको अभाव थियो।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न “रिभर्स रिपो” जारी गरिन्छ।
बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।