मजार ई सरिफ (अफगानिस्तान)- अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार भएको बम विस्फोटमा परी एक जना जिल्ला प्रमुखसहित ५ जनाको ज्यान गएको छ। जिल्ला प्रमुख बाहेकका बाँकी चार जना पनि अफगानिस्तानको सरकार समर्थित लडाकु रहेको बताइएको छ।
उत्तरी अफगानिस्तानको सोरतेपा जिल्लाका जिल्ला प्रमुख क्वारी इब्राहिमको ज्यान गएको हो। साथै सो जिल्लाका चार जना स्थानीय मिलिसियाको ज्यान गएको हो।
बम तालिबान लडाकु समूहले विस्फोट गराएको हो। उनीहरुविरुद्ध सरकारका समर्थित समूहले विगतदेखि नै यस्तो खालको हिंसात्मक हमला गर्दै आएका छन्।
तालिबानको प्रवक्ता जबिउल्लाह मुजाहिदले सो आक्रमणको जिम्मेवारी लिएका छन्। उनले स्थानीय सरकारहरुले लडाकू समूह खडा गरेर तालिबानका विरुद्धमा आक्रमण गर्न भनेकोले सो बम विस्फोट गराइएको बताएका छन्।
अफगानिस्तानमा सरकार र तालिबानबीच शान्ति वार्ता हुने भनिएको भए पनि अझै पनि त्यसको सुरुवात भएको छैन। अफगानिस्तानको सरकार, अमेरिका र तालिबानबीच केही महिनाअघि कतारको राजधानी दोहामा तालिबानहरु पनि शान्ति वार्तामा आउने सम्झौता भएको थियो।
यसैकारण अफगानिस्तानको सरकारले तालिबानहरुकै मागअनुसार अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने तथा अफगान सरकारले जेलमा रहेका तालिबानलाई मुक्त गर्ने तयारी थालेको बताइएको छ। -सिन्ह्वा/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।