काठमाडौं- सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लकडाउनको अवधिमा दाबी भुक्तानी गर्न थालेको छ। कम्पनीले यति प्लाष्टिक इण्डष्ट्रिजलाई ३ करोड ६७ लाख ५० हजार रुपैयाँ तथा ओम प्लाईउड एण्ड फर्निचर इण्डष्ट्रिजलाई १ करोड ५९ लाख रुपैयाँ बराबरको दावी फछ्यौट गरेको छ।
लकडाउनको करिब तीन महिनाको अवधिमा कम्पनीले १३ करोड ११ लाख ५९ हजार २९५ रुपैयाँ दाबी भुक्तानी गरेको छ।
आर्थिक वर्ष २०७५/२०७६ मा कुल १ अर्ब १६ करोड १३ लाख ९८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो। चालु आर्थिक वर्षको हालसम्ममा कम्पनीले ७९ करोड २ लाख ८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण सिर्जित असामान्य परिस्थितिले सामाजिक, आर्थिक क्रियाकलापलाई दीर्घकालीन असरमा पुर्याइरहेको परिप्रेक्ष्यमा बिमा दावी भुक्तानी गर्नतर्फ कम्पनी केन्द्रित रहेको छ। यस विषम परिस्थितिमा समेत बिमित आकांक्षा अनुरुपको बिमा सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाल सरकारले तोकेको मापडण्ड अनुरुप सुरक्षात्मक विधि अपनाई लकडाउनको समयमा सिमित कर्मचारीहरुद्वारा सामाजिक तथा भौतिक दूरी कायम गर्दै कार्यालय सञ्चालन गरी बिमा दाबी फछ्यौट कार्यलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरी दाबी रकम भुक्तानी गर्दै आएको छ।
बिमितको हितलाई केन्द्रबिन्दुमा राखेर बिमा दाबीको भुक्तानी गर्ने लक्ष्य रहेको र बिमा दावी फछ्यौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शी बनाउने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।