काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको समयमा नेपाल सरकार, बैंकिङ क्षेत्र र सर्वसाधारणलाई २ करोड ९१ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ।
एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउड फन्डिङ गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्याएको छ।
कोभिड-१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रश्रय दिने उद्देश्यका साथ एनसीएचएलले एनसिएचएल-इसिसी, एनसिएचएल-आइपिएस, कनेक्ट आइपिएस, एनपिआई र कनेक्ट आरटिजिएस सेवाहरु प्रवाह गर्दै आएकोमा लकडाउन सुरु भएदेखि नै यी सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहा गर्दै आइरहेको छ। यसरी कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले २ दुई करोड ३४ लाख ९ हजार २४३ रुपैँयाभन्दा बढिको प्रत्यक्ष योगदान गरेको छ।
कनेक्ट आइपिएस प्रणालीमा ‘डोनेट फर कज’का रुपमा समावेश गरी सोबाट हालसम्म ‘नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोष’ का लागि ४० लाख १९ हजार ४४८ रुपैयाँ संकलन गर्न सहयोग गरेको छ। यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा १७ लाख रुपैयाँ सहयोग गरेको छ। जसमध्ये १० लाख केन्द्रीय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १/१ लाख सहयोग प्रदान गरेको छ।
सर्वसाधारण र व्यवसायहरु वर्तमान महमारीको स्थितिबाट निकै प्रभावित छन्, यस्तो अवस्थामा कारोबार शुल्क मात्र आम्दानीको मुख्य स्रोत भएता पनि एनसीएचएलले लकडाउन भएदेखि नै डिजिटल भुक्तानीका लागि अनुकूल वातावरण प्रदान गर्दै बैंकिङ क्षेत्र र सर्वसाधारणलाई थप सहयोग गर्न यसरी कारोबार शुल्क मिनाहा गर्ने निर्णय लिएको हो र एनसीएचएल महामारी विरुद्धको लडाइँमा सम्भव भए जति सबै तरिकाले थप सहयोग पुर्याउन प्रतिबद्ध रहेको एनसीएचएलले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।