फाइल तस्बिर
काठमाडौं- कोभिड–१९ सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको बन्दाबन्दी उल्लङ्घन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ। बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारबाही थालेको हो। मंगलबार मात्रै चार हजारभन्दा बढीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाले दिनमा १५५ र रातमा ४५ स्थानमा जाँच चौकीमार्फत आम नागरिकको अत्यावश्यक सेवा र कामलाई सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकमा ट्राफिक प्रहरी परिचालन गरी जाँच गर्दै आएको छ।
मंगलबार मात्रै काठमाडौंँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ३ हजार ६४७ दुईपाङ्ग्रे र ४६० चारपाङ्ग्रे गरी जम्मा ४ हजार १०७ सवारी नियन्त्रणमा लिई चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख ढकालले अनुरोधसमेत गरेका छन्। लकडाउनमा बिना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोनाबाट बच्न गरिएको आग्रह लत्याउँदै बिना काम बजार घुम्न, आफन्त भेट्न र रमाइलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा चैत ११ गतेदेखि मंगलबारसम्म लकडाउन उल्लङ्घन गर्ने ६१ हजार ४०६ सवारी साधन नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।