काठमाडौं- नापी कार्यालय भक्तपुरका तत्कालीन सर्वेक्षक राजेन्द्र काफ्लेले सार्वजनिक पदमा रहँदा गैरकानुनी आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। काफ्लेविरुद्ध ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ गैरकानुनी आर्जन गरेको देखिएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
काफ्लेले पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबाट भक्तपुर र काभ्रेमा महँगो मूल्यमा जग्गाहरु खरिद गरी लिखतमा कम मूल्य देखाई आफ्नो श्रीमतीको नाममा लुकाई राखेको अख्तियारको दाबी छ।
काफ्लेको २०५४ पुसदेखि २०७६ बैशाखसम्मको अवधिको कुल वैधानिक आय आर्जन १ करोड ७४ लाख १४ हजार ५० रुपैयाँमा र कुल व्यय ७ करोड १७ लाख ४१ ह्जार १ सय ५० रुपैयाँ घटाउँदा हुन आउने ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ बराबरको व्यय तथा लगानी (सम्पत्ति)को स्रोत नखुलेको अख्तियारको भनाइ छ।
गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको तथ्य प्रमाणबाट पुष्टि भएको अख्तियारको आरोप छ। काफ्लेलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।