काठमाडौं- शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले लकडाउनले विद्यार्थीलाई घरलाई नै लघु विद्यालय बनाउन अवसर दिएको बताएका छन्। संसदमा विनियोजन विधेयकमाथि उठेको प्रश्नमा जवाफ दिने क्रममा मन्त्री पोखरेलले कोभिड-१९ सिकाईका लागि अवसर समेत ल्याएको बताए।
‘विद्यार्थीमा स्वअध्ययन गर्ने बानीको विकास भएको छ। घरलाई नै लघु विद्यालय बनाउन प्ररित गरेको छ,’ पोखरेलले भने, ‘वैकल्पिक शिक्षा पद्धति अंगाल्न बाध्य बनाइदिएको छ।प्रविधिलाई अधिकतम प्रयोग गर्न पाठ सिकाएको छ। ज्ञान हस्तान्तरणमा विद्यमान विधिलाई रुपान्तरण गरिदिएको छ।’
कोभिडले हाम्रो क्षमताको उजागर गरिदिएको समेत गरिदिएको पोखरेलले सदनमा स्वीकारे। शिक्षामा कोभिडले पारेको क्षतिको आँकलन मन्त्रालयले गरेको जानकारी गराए।विद्यार्थीको सिकाईमा बञ्चित हुन नदिन असार १ देखि लागु हुने गरी शिक्षा निर्देशिका कार्यान्वयन हुने बताए। तिनै तहका सरकारलाई सिकाई निर्देशिका परिपत्र गरिएको जानकारी गराए। प्रविधिको प्रयोगबाट कक्षा सञ्चालन हुने उनले जानकारी दिए। अनलाइन,टिभि,रेडियो मार्फत कक्षा सञ्चालन गर्ने उनले जानकारी दिए। उनले भने, ‘शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न वैकल्पिक शिक्षा प्रदान गर्न सिकाई निर्देशिका बनाइएको हो।’
विभिन्न तहमा परीक्षाको हुन नसकेका अन्योल छिट्टै हट्ने जानकारी गराए। सेमेस्टर शिक्षा प्रणालीमा परीक्षा नलिइकन थप सेमेस्टरमा बढाउने क्रम गरिएको बताए। शिक्षा क्षेत्रको बजेट केही मात्रामा वृद्धि भएको उनले सदनमा सुनाए। शिक्षामा विनियोजित बजेटको ६० प्रतिशत बजेट अंश प्रदेश र स्थानीय तहमा वितरण हुने उनको भनाइ छ।
सरकारले प्रावधिक शिक्षालाई प्राथमिकता दिएको जनाउँदै प्राविधिक विश्वविद्यालय प्रारम्भ हुने अवस्थामा रहेको बताए। विश्वविद्यालयका अनुसन्धान केन्द्रलाई ज्ञान केन्द्र बनाउने प्रतिबद्धता जनाए।
सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी अभाव रहेको बताए। सामुदायिक विद्यालयमा सरकारले पार्टी कार्यकर्ता भर्ना गर्ने आशंका नगर्न सांसदहरुलाई आग्रह गरे। राष्ट्रपति शैक्षिक कार्यक्रम सामुदायिक विद्यालयलाई सवलिकरण गर्ने कार्यक्रम भएको दाबी गरे।
लकडाउन पछि तलब प्राप्त नगरेका त्रिभुवन विश्विद्यालयका आंशिक प्राध्यापकको समस्या समाधान गर्न छलफल प्रक्रिया अघि बढेको जानकारी दिए। राष्ट्रिय शिक्षा नीति पारित हुन सरकारको ऐतिहासिक कार्य भएको दाबी गरे पाठ्यक्रम समायानुकल परिवर्तन भइरहेका जानकारी गराउँदै पोखरेलले २०८० सम्म सबै पाठ्यक्रम परिवर्तन हुने बताए।
निरक्षरता दर घटेको सुनाउँदै पोखरेलले २०८५ सालपछि आठ कक्षा पास नगरेको कोही नरहने दाबी गरे। वर्षौंदेखि हुन समाधान हुन नसेकको अस्थायी शिक्षकको समस्या हटेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।