अछामको बयालपाटा अस्पतालबाट निर्मम समाचार आयो- कर्मचारी सिद्धार्थ आउजीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। जीवन बचाइमाग्न अरु जाने अस्पतालमा सोमबार आउजी आफ्नो जीवन त्याग्नका लागि पुगेका थिए। एउटा युवाले जागिरसँग ज्यानको बाजी लगाएको यो घटना, घटनामै सीमित रह्यो। विरक्तलाग्दो घटनाका गुथ्थीहरु केवल गाँठो परेर बसे।
घटनाको भोलिपल्टका अखबारका प्राथमिकतामा उनको मृत्यु परेन। सामान्यभन्दा सामान्य विषयलाई ‘राष्ट्रियकरण’ गर्न तत्पर सामाजिक सञ्जालका ‘जिरो सहनशीलता’वालाहरुले यसलाई सहजै पचाइदिए। एक युवाले गरेको यस्तो क्रुर निर्णय साँच्चै एउटा घटना मात्रै हो?
ऊ सुदूरबासी थिएन भने यो एउटा घटना मात्रै हुँदैनथ्यो। आज संसदमा बहसको विषय बन्थ्यो र सामाजिक सञ्जालमा आक्रोशको 'इस्यु'। तर सुदूर कहिल्यै राज्यको मूल प्रवाह छैन। त्यहाँको विषय सजिलै मूलधारमा पुग्दैन।
सिद्धार्थ आउजी एक व्यक्ति होइन, सुदूरको प्रतिनिधि अनुहार हो। अधिकांश सुदूरपश्चिमेलीलाई जस्तै ऊसँग दुईटा विकल्प थिए- भोकले मर्ने कि अरु कुनै तरिकाले। उसले दोस्रो रोज्यो। मर्न त ऊ एकदिन यसै पनि मर्थ्यो। मर्नुको सत्य अगाडि त कसको के जोर चलेको छ र? मर्नुका धेरै आयाममध्ये सदुरजनको भागमा पर्ने जागिर नभएपछि खान नपाएर कुपोषित हुँदै रोगी भएर समयभन्दा अघि यही अस्पतालको बेडमा मर्ने सत्यभन्दा अलिक फरक उसले मृत्युका लागि अस्पतालको बेड होइन, गेट रोज्यो।
‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने सुन्दर नारा पो उसले सुनेको थियो कि! ‘भोकले मर्न नदिने’ शासक भएको देशमा उसलाई ‘भोकले मर्ने’ छुट हुँदैन भन्ने बुझ्यो कि? जे भए पनि उसले भोक लाग्नुअघि नै आत्मदाह गर्यो। अब सरकारी रेकर्डमा ‘आत्मदाहबाट मृत्यु’ उल्लेख हुनेछ तर यो मृत्यु भोकले थियो। तर वास्तवमा उसको मृत्यु भोकको भयले थियो।
सुदूरका जनतालाई यो देशका शासक र शक्तिपुञ्जले कहिल्यै समदूरीबाट हेरेनन्। राज्यको प्राथमिकता भन्दा ‘दूर–दूर’ उनीहरुले जीवन निर्वाहको विकल्प भारतको चौकीदारी बनाए। ठूलो संख्या भारत निर्भर छ। त्यो निर्भरता मूल्य यतिबेला सुदूरपश्चिमले नराम्ररी चुकाउँदैछ। त्यसको असर हरेकदिन हामीले हेर्दै र सुन्दै जानुपर्नेछ।
भारतले सुदूरतर्फको कति नेपाली सीमा मिच्यो? आम चासोको विषय बनिरहेको समय छ। भारतमा कति सुदूरपश्चिमेली छन्? यो राज्यको शासकले त्यो गणना गर्न चाहँदैन। त्यो संख्याको कसैले हिसाबकिताब राख्न पनि चाहँदैन।
किनभने शासकलाई राष्ट्रवादी बन्नुछ। त्यसैले त सुदूरपश्चिमेलीहरुका तर्फबाट मेरो केही प्रश्न छन्- राष्ट्रियता भन्नु भूगोल मात्रै हो? कि त्यो भूगोलभित्रका नागरिक पनि? माटो बढी मूल्यवान हुन्छ कि जीवन? सायद राष्ट्रवादी मुकुन्डो भिरेर पदासीन हुने शासकका लागि माटो महत्वपूर्ण हो। त्यसैले सुदूरपश्चिमेलीको जीवन आगोले डढाओस् कि एचाआइभीले गलाओस्? भोकले सिध्याओस् कि रोगले? कुनै मतलब छैन, हुने छैन।
निर्जन लिम्पियाधुरालाई प्रेम नगर भनिएको होइन। तर त्योभन्दा वर रोग, भोग र दुःखसहित जीवन जिउन अभिशप्त नागरिक छन् भन्ने नबिर्स। शासक नक्सा फेरेर सन्तुष्ट भइरहेका समयमा नियति फेर्न नसक्दा घट्ने घटनाको प्रतिनिधि पात्र सिद्धार्थ आउजी हुन्।
तर, कसले बोल्ने ती आफ्नै ज्यानमा आगो लगाइरहेका सिद्धार्थ आउजीहरुबारे? अरुको आशा नगरौं, त्यही क्षेत्रमा जन्मेका केही थान व्यक्तित्वहरु सिंहदरबारदेखि सदनसम्म छन्। कसैले बोली दबेको होला तर ऊ पद र पहुँचले उच्च ओहोदामा छ। जो पदमा छैन, उसको टाठो बोली देशले सुनिरहेको हुन्छ। तर, उनीहरु कहाँ छन्?
यहीँ छन्। तर, जसले उनीहरुलाई त्यहाँ पुर्याए, उनीहरु ती नागरिकको कहिल्यै भएनन्। सुदूरपश्चिमका ती नेताहरुमध्ये कतिलाई एमसिसीले राष्ट्रियता डढाउला भन्ने पीर छ तर गरिबीको भुंग्रोमा रहेको एक युवाले जागिर गुमाउँदा ज्यान डढाएकोमा कुनै सन्देह देखिँदैन।
अर्काथरी पनि छन्, एमसिसी यही संसद् अधिवेशनबाट पास हुनुपर्छ भनेर संसद्मै उभिएर शासकमाथि औंलो तेर्स्याउने हैसियत राख्छन्, आफू प्रतिनिधित्व गर्ने भूगोलका विकासका सदा चुपचाप रहन्छन्। अर्काथरी पनि छन्, जसलाई भारतले सीमा मिचेको पिर छ तर सीमान्तकृतहरु भोकले पेट मिचिरहेको देख्दैनन्। सुदूरका त्यस्ता नेता पनि छन्, जो प्रधानमन्त्री केपी ओलीको पद गुम्ने डरमा दौडधुप पनि गर्छन् तर ज्यानै गुमाइरहेका सुदूरपश्चिमेलीबारे सोच्ने फुर्सदमा हुन्नन्।
कोरोना कहरले सबैभन्दा बढी आक्रान्त को होला? निःसन्देह सुदूरपश्चिमेली। तर कहिल्यै यसबारे संसद्मा कोही उँचो स्वरमा बोलेको सुन्नुभएको छ? कोरोना संकटपछि भारतबाट विस्थापित भएर गाउँ आइपुगेका उनीहरु कसरी जीवनयापन गर्लान्? प्रश्न छ तर उत्तर आउजीले दिएका छन्। आउजीको बाटो पछ्याउन अरुलाई अभिशप्त बनाउने डर बढेको छ।
प्रतिपक्षका दलका नेता शेरबहादुर देउवा हुन् वा सत्तारुढ दलमै प्रतिपक्ष देखिने भीम रावल। उनीहरुका लागि सुदूरपश्चिम प्रतिनिधि सभामा पुग्ने एउटा भर्याङभन्दा बढी केही होइन। समयले यसलाई प्रमाणित गर्दै गइरहेको छ।
साँच्चै उनीहरु जनप्रतिनिधि हुँदा हुन् त रोजगारी गुम्दा एक युवाले आफ्नै ज्यान डढाइरहेको घटनाले मन भतभती पोल्नुपर्ने हो। त्यो घटनालाई ‘बहसको डढेलो’ बनाइनुपर्ने हो। तर, त्यो यत्तिकै निभ्यो। जसको अर्थ फेरि पनि थुप्रै आउजीहरुको ज्यानमा आगो सल्किएको हेर्न हामी अभिशप्त हुनुपर्ने छ।
संवेदनाहीन बनिरहेका छन् शासक। सुदूरपश्चिमको नेतृत्व र नागरिक अघि जोडेर दुनो सोझ्याउन वर्ग र समूहहरु। कमसे कम सुदूरपश्चिमेलीलाई यतिबेला महसुस हुनुपर्छ- पहिले नेतृत्व फेरौं, नियति त्यसपछि फेरिन्छ!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।