काठमाडौं- नेपालका करोत खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाइन अन्तर्राष्ट्रिय कराते काता च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेका छन्।
केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाइन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिस्पर्धीलाई पछाडी पार्दै मानन्धर ३५–४५ वर्ष उमेर समूह ‘ए’ बाट फाइनल प्रवेश गरेका हुन्।
उनले सेमिफाइनलमा भारतका खेलाडीहरुलाई पछि पार्दै फाइनल यात्रा तय गरेका थिए। अब उनले उपाधिका लागि फाइनलमा स्पेनका खेलाडीको सामना गर्नेछन्। विश्व कराते महासंघ र एसियाली कराते महासंघको नियममा खेलाइएको अनलाइनल च्याम्पियनसिपमा ३५–४५, ४५–५५, ५५–६५ र कुबुदो गरि ४ विधामा प्रतिस्पर्धा गराइएको मानन्धर स्वयंले जानकारी गराएका छन्।
नेपालबाट सो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला खेलाडी हुन्। एक महिनादेखि सञ्चालन भइरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो।
अन्य बिधाको सेमिफाइनल सम्पन्न पश्चात फाइनल जुन १३ तारिखमा आयोजना हुने मानन्धरले जानकारी गराए। विजयी खेलाडीहरुलाई मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिने छ।
कोभिड १९ बाट विश्व आक्रान्त भइरहेको अवस्थामा बिश्वका विभिन्न अन्तर्राष्ट्रिय खेल संस्थाहरुले अनलाइन मार्फत खेलाडी तथा प्रशिक्षकहरुलाई क्रियाशिल गराउँदै आइरहेका छन्। त्यसै क्रममा विश्व कराते महासंघ र एसियाली कराते महासंघको सम्बन्धनमा केरला कराते संघले उक्त च्याम्पियनसिप आयोजना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।