म्यानचेस्टर- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। शनिबार राति टोटनह्यामलाई पराजित गरेपछि जितबाट ३ अंक टाढा रहेको सिटीलाई च्याम्पियन बनाउन शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडको हात रह्यो। दोस्रो स्थानको युनाइटेड पुछारको क्लब वेस्ट ब्रुमसँग १-० गोलले पराजित भएपछि सिटीले ५ खेलअघि नै लिगको उपाधि जितेको हो।
सिटीले सन् २०१४ पछि पहिलो पटक उपाधि जितेको हो। त्यसअघि सिटे सन् २०१२ पनि उपाधि जितेको थियो। सिजनमा सिटीले ३३ खेल सकिदा ८७ अंक जोडेको छ। दोस्रो स्थानको युनाइटेडको समान खेलबाट ७१ अंक छ।लिगको सुरुवातमा लगातार १८ खेलको जित्दै सिटीले उपाधि अभियान बलियो बनाएको थियो।

उपाधिसँगै सिटीले सन् २००१ मा युनाइटेडले बनाएको रेकर्डसँग बराबरी गरेको छ। त्यसबेला पनि युनाइटेडले ५ खेलअघि लिग जितेको थियो।
सिटी सिजनमा सवै क्लबलाई पराजित गरेर उपाधि जित्ने तेस्रो क्लब बन्यो। यसअघि सन् २००६ मा चेल्सी र २०११ मा युनाइटेडले पनि सवै क्लबलाई हराएर उपाधि जितेका थिए।
सिटीले इंग्ल्यान्डको पहिलो श्रेणीको लिग जितेको यो पाँचौ पटक हो। यसअघि सिटीले १९३७, १९६८, २०१२ र २०१४ पनि उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।