काठमाडौं- सोमबार साँझ कमलादीस्थित रेजेन्सी बुटिक होटलको कोठा नम्बर १०४ बाट पक्राउ परेका ९ जना भिआइपी जुवाडेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
पक्राउ परेका ९ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले सोमबार साँझ भिआइपी व्यापारी, वित्तीय संस्थाका प्रतिनिधि, अवैतनिक दूतसहित ९ जनालाई पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी वृत्त उनीहरुको साथबाट प्रहरीले २ लाख ७७ हजार ७ सय, १ सय ७९ वटा क्वाइन र पाँच बुक तास बरामद गरेको थियो।
यस्तो छ कारबाही प्रक्रिया
जुवा लेख्नेलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाही हुनेगर्छ। संहिताको परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा जुवा पर्छ। दफा १२५ मा जुुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने उल्लेख छ।
१२५ को उपदफा १ मा कसैले जुवा खेल्नु वा खेलाउनु नहुने बताइएको छ। जुवा खेल्ने र खेलाउने गरेको पाइएमा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।
त्यस्तै जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जफत हुनेछ। तर जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन जफत नहुने संहितामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।