काठमाडौं– प्रहरी हिरासतमा मृत्यु भएका अफ्रिकन-अमेरिकन नागरिक जर्ज फ्लोयडको समर्थनमा इंग्लिस क्लब लिभरपुलका खेलाडीहरु अभ्यासको दौरान गोलाकार बनी घुँडा टेकेर बसेका छन्।
लिभरपुलका २९ खेलाडीहरु त्यसरी फ्लोयडको समर्थनमा रहेर उनीहरुले रंगभेदविरुद्ध आवाज दिएका हुन्। एकतामा बल हुन्छ भन्ने सन्देश दिन खोजिएको उक्त तस्बिरमा समेत लेखिएको देखिन्छ।
रंगभेदविरुद्ध अहिले लिभरपुलका खेलाडी मात्र होइन विश्वभरबाट खेलाडीहरुको आवाज आइरहेको छ। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोउल पोग्बा र मार्कस रासफोर्डले पनि रंगभेदविरुद्ध भइरहेका आन्दोलनको समर्थनमा आवाज उठाइरहेका छन्।
लिभरपुलका स्ट्राइकर रिहान ब्रिस्टर, टेनिस स्टार सेरेना विलियम्स, कोको गोफ, नाओमी ओसाका, बास्केटबल लिजेन्ड माइकल जोर्डन, फर्मुला वान खेलाडीहरु चाल्र्स, कार्लोस, जर्ज रुसेल, ड्यानियल रिकार्डो लगायत दर्जनौँ स्टार खेलाडीहरुले रंगभेदविरुद्ध आवाज उठाइरहेका छन्।
जर्मन बुन्डेस लिगामा बोरुसिया डोर्टमुन्डले एससी पार्डाबोनलाई ६–१ ले हराएको खेलमा ह्याट्रिक गरेका खेलाडी सान्चोले पहिलो गोल गरेपछि नै टिसर्टमा लेखिएको शब्दमार्फत रंगभेदविरुद्ध आफ्नो आवाज देखाएका थिए। ‘जर्ज फ्लोयडलाई न्याय’को माग गरेर उनले गोलको सेलिब्रेसन गरे।
खेलपछि सान्चोले न्याय माग गरिएको आफ्नो फोटो ट्वीटरमा सेयर गर्दै लेखेका छन्– ‘खेल जीवनकै पहिलो ह्याट्रिक गर्न पाउँदा खुसी छु। तर विश्वमा अहिलेको समयमा महत्वपूर्ण अरु मुद्दाहरु रहेकाले अलिकति नरमाइलो पनि लागिरहेको छ। यस्तो परिस्थितिमा परिवर्तनमा मद्धत गर्नका लागि हामी आवाज उठाउनुपर्ने भएको छ।’
जर्ज फ्लोयडको न्यायका लागि विश्वभर आवाजहरु उठिरहेका छन् भने अमेरिकामा विरोध प्रदर्शनसमेत भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।