काठमाडौं- नेपाल आयल निगमले कानुन विपरीत हवाई इन्धनको मूल्य तोकेको भन्दै वायुसेवा संचालक संघले आपत्ति जनाएको छ। संघले आइतबार जारी गरेको विज्ञप्तीमा आयल निगमले हवाई इन्धनमा अझै पनि इन्डियन आयल निगमले प्रदान गरेको तुलनामा प्रतिलिटर ३३ रुपैयाँ मुनाफा लिई ६५ रुपैयाँ मूल्य तोकी राख्नु अस्वभाविक र अवाञ्छनीय भएको समेत उल्लेख गरेको हो।
यसका साथै उक्त मूल्य वायुसेवा संचालकलाई अमान्य रहेको समेत संघले जनाएको छ। आयल निगमले इन्धनमा बढी मूल्य लिएकै कारण सुपथ मूल्यमा हवाई सेवा प्रदान गर्न नसकिने संघले विज्ञप्तिमा उल्लेख गरेको छ।
निगमले खरिद मूल्यमा १० प्रतिशत मात्र नाफा राखी हवाई इन्धनको मूल्य समायोजन गर्न पनि संघको माग छ। सरकारले बजेटमार्फत् हवाई इन्धनमा पूर्वाधार कर छुट तथा थप भन्सार शुल्क नलाग्ने व्यवस्था गरेपछि निगमले साविकको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाई ६५ रुपैयाँ कायम गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।