काठमाडौं- अन्तराष्ट्रिय मानव अधिकारबादी संस्था एम्नेस्टी इन्टरनेशनले पश्चिम रुकुमको चौरजारीमा भएको घटनामा स्वतन्त्र र प्रभावकारी अनुसन्धान गर्न माग गरेको छ।
दलित युवाहरुको हत्यामा स्थानीय सरकारका प्रतिनिधि नै मुछिएका कारण घटनाको स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनुपर्ने उसले टिप्पणी गरेका हो। पश्चिम रूकुम जिल्लाका वडाध्यक्ष दलित युवाहरूलाई आक्रमण गर्ने हिंस्रक झुण्डमा सामेल भएकोमा अहिले प्रहरी हिरासतमा रहेका जानकारी प्राप्त भएको भन्दै एम्नेस्टीले यस्ता घटनाहरु प्रभावकारी अनुसन्धान हुनुपर्ने तर्क गरेको छ। त्यस्तै एम्नेस्टीले केही सातायता दलितमाथि भएका घटनाहरुमा आफ्नो ध्यानार्कषण भएको जनाएको हो।
रुपन्देहीकी बलात्कार पीडित १२ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराउने गाउँलेहरूको समूहमा सोही गाउँका वडा अध्यक्षको पनि संलग्नता रहेको प्रति पनि एम्नेस्टीले आपत्ति जनाएको छ। सोही दिन पश्चिम रुकुम जिल्लाको एउटा गाउँमा १८ जना युवाहरूको एउटा समूह, जो अधिकांश दलित समुदायकालाई गाउँको उपल्लो जातको झुण्डले आक्रमण गरी लखेट्दै भेरी नदीको किनारसम्म पुर्याएको घटना निन्दनीय रहेको उसको टिप्पणी छ।
नेपालका अधिकारीहरूले आफ्नै बलात्कारीसँग जबर्जस्ती विवाह गराइएकी एकजना १२ वर्षीया बालिकासहित पाँच जना दलितको मृत्युको घटनामा तत्काल प्रभावकारी अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्नु गर्न उसले माग गरेको छ।
जेठ १० गते रुपन्देही जिल्लाको देवदह गाउँमा एकजना १२ वर्षीया बालिकाको शव रूखमा झुण्डिएको अवस्थामा फेला परेको थियो। अघिल्लो दिन उनलाई बलात्कार गर्ने उपल्लो जातको पुरुषसँग उनको जबर्जस्ती विवाह गराइएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनलाई बलात्कारपछि हत्या गरिएको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।