काठमाडौं- एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एण्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिप २०२० बाट नेपालका सबै खेलाडी छनोट चरणबाटै बाहिरिएका छन्।
बुधबार भएको छनोट खेलमा सबै नेपाली खेलाडीहरु बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराइन्। एसियन जुनियर एण्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिप अन्तरगत नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स रहेको समूहमा नेपालका तीन पुरुष र तीन छात्रा गरी ६ खेलाडीहरुले सहभागिता जनाएका थिए।
स्विस प्रणाली अन्तरगत ९ चरणको खेलमा जुनियर खुलातर्फ अबिश्र श्रेष्ठले छैटौं स्थानमा रहँदै च्याम्पियनसिपलाई पूर्ण बिराम लगाए। उनले ४ अंक प्राप्त गरे। यस्तै ३.५ अंकका साथ बिवेक श्रेष्ठ सातौँ र ३.५ अंकका साथै निकेन कुशथा दशौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिए। जुनियर खुुला तर्फ शीर्ष दुई स्थान बंगलादेशका खेलाडी भए भने तेश्रो स्थानमा श्रीलङ्काका खेलाडी भए।
यस्तै छात्राहरु पनि प्रतिसपर्धाबाट बाहिरिएका छन्। खुश्वु थापा सातौँ, अनिशा न्यौपाने आठौं र कृतीसरा अधिकारी नवौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिएका हुन्। थापा र न्यौपानेले ३.५ र अधिकारीले ३ अंक प्राप्त गरेका थिए। छात्रातर्फ शीर्ष तीन स्थानमा बंगालादेश, श्रीलङ्काका खेलाडी रहे।
पहिलो चरणमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरु फाइनल चरणका लागि छनोट भएका छन्।
विजेतालाई एसियन जुनियर (छात्रा) अनलाइन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै शीर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद १ हजार ५ सय, १ हजार र ५ सय डलर, स्वर्ण, रजत र कास्य, तथा प्रमाण पत्र प्रदान गरिने छ। यस्तै महिला तर्फ शीर्ष तीनले ७ सय ५०, ५ सय र २ सय ५० डलर नगद पुरस्कार सहित स्वर्ण, रजत र कास्यका साथै प्रमाण पत्र प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।