काठमाडौं- सरकारले लुम्बिनी क्षेत्र विकास कोषको कामलाई निरन्तरता दिने आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा समेत प्राथमिकतामा राखेको छ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै कोषलाई निरन्तरता दिने जानकारी दिएका हुन्।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्धमार्गी एवं शान्तिप्रेमी व्यक्तिहरूको लागि अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यका साथ २०४२ सालदेखि सुरू भएको हो। यो आयोजनको काम सरकारले आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिएको छ। यसको अनुमानित कुल लागत ६ अर्ब १० करोड रहेको छ।
जसमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको ध्यान तथा सभाहल निर्माण कार्य ८० प्रतिशत सम्पन्न भइसकेका छ। तर, पछिल्लो समय भने कोभिड–१९ का कारण काम हुन सकेका छैन।
सरकारले २०७६ चैत्र मसान्तभित्र उक्त कार्य सम्पन्न हुने गरी द्रुत गतिमा निर्माण कार्य अगाडि बढाएको थियो। पवित्र उद्यानका ४ वटा गोलाई पोखरी, ४२ वटा प्लट निर्माण गरी केहीमा बगैंचा निर्माण, केन्द्रीय नहर, वाटर टावर र वाटर सप्लाई सिष्टम, केही क्यानल तथा पोखरी, ३ जोडी सिम्बोलिक पेभिलियन, सांस्कृतिक क्षेत्रमा २ वटा संग्रहालय तथा पुस्तकालयका भवन, पूर्वी र पश्चिमी विहार क्षेत्र, होटल लगायतका निर्माण कार्य तथा ५ हजार बिरुवाको वृक्षारोपण सम्पन्न भएका छन्।
बृहत् लुम्बिनी गुरूयोजना तयारी सम्बन्धी अवधारणापत्र तयार हुनुका साथै रामग्रामको गुरुयोजना समेत तयार भएको र गुरूयोजनामा समावेश भएको क्षेत्रभित्र व्यवस्थित बिजुली वितरण प्रणाली, अप्टिकल फाइबर भूमिगत बिच्छ्याउने कार्य, डाटा सेन्टर, करिब १७५ थान सिसी टिभी क्यामरा जडान, ४ वटा विभिन्न स्थानमा ठूला डिस्प्ले स्क्रिन लगायत आइटीसम्बन्धी आधुनिक प्रविधिको विकासको अन्तिम चरणमा पुगेका छ।
लुम्बिनी गुरुयोजनाका बाँकी कार्यहरू एकमुष्ट रूपमा सम्पन्न गर्ने गरी परामर्शदाता छनौट गर्ने कार्य, बिजुली व्यवस्थापनको कार्य, टेलिफोन लाईन व्यवस्थापन गर्ने कार्य अन्तर्गत आइटी ब्याकवोल (सम्पूर्ण गुरुयोजना क्षेत्रभित्र अप्टिकल फाइबर केबुल बिछ्याउने कार्य) डाटा सेन्टर निर्माण, ५० हजार प्रयोगकर्ताले एकैपटक चलाउन मिल्ने गरी वाइफाई सिष्टम जडान गर्ने कार्य सम्पन्न भइसेको छ।
नियमित रूपमा भइरहेको कपिलवस्तु जिल्ला अन्तर्गत तिलौराकोटको विस्तृत उत्खनन, अन्वेषण कार्य चालु वर्षमा समेत सुचारु रहेको छ। देवदहको भवानीपुरमा सूचना केन्द्र सहितको बहुआयामिक भवन निर्माण कार्य सम्पन्न भइसकेको छ। चालु आर्थिक वर्ष२०७६/७७ मा १ अर्ब बजेट विनियोजन भएको थियो।
साथै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले लुम्बिनीकाको बाँकी काम पूरा गर्ने लक्ष्य सहित लुम्बिनी विकास प्राधिकरण समेत गठन गर्ने तयारी गरेका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।