काठमाडौं- एसियन चेस महासंघको आयोजनामा भइरहेको ‘एसियन जुनियर एण्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिप’ मा नेपाल सहभागी भएको छ।
कोरोना भाइरस (कोभिड १९) का कारण समस्या आइरहेको समयमा आफ्ना सदस्य राष्ट्रका खेलाडीहरुलाई क्रियाशिल गर्दै मानसिक समस्या आउन नदिन प्रतियोगिता आयोजना गरिएको बताइएको छ।
बुधबारदेखि सुरु भएको प्रतियोगिता २२ गते बिहीबार सञ्चालन हुनेछ। जसमा नेपालबाट पुरुषतर्फ अविशेक श्रेष्ठ, विवेक श्रेष्ठ र निकेन कुसथा र गल्र्सतर्फ खुस्बु थापा, अनिषा न्यौपाने र कृतिसरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिसा खुम्बुले जानकारी गराएकी छिन्।
प्रतियोगिता स्विस प्रणाली अन्तरगत ९ चरणको हुने छ। ३.२ जोन अन्तरगत हुने प्रतिस्पर्धामा नेपाल लगायत बंगालादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स गरी ५ देशका खेलाडीले सहभागिता जनाउने छन्।
च्याम्पियनसिपमा प्रत्येक देशका तीन पुरुष र तीन महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउने छन्। च्याम्पियनसिपमा फिडेका ३.१, ३.२, ३.३, ३.४, ३.६ र ३.७ गरि ६ जोनका छनोट चरणका खेल हुने छन्। प्रत्येक जोनमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरु फाइनल चरणका लागि छनोट हुने छन्।
फाइनल चरण पनि स्वीस प्रणालीमानै ९ चरणकै हुने आयोजकले जनाएको छ। छात्रातर्फ शीर्ष तीन फाइनल चरणका लागि छनोट हुने छन्। खुला जुनियर शीर्ष तीन भित्र पर्ने छात्रा खेलाडीले जुनियर अथवा छात्रा च्याम्पियनसिप फाइनल चरण दुईमध्ये एक छान्न पाउनेछन् र यदि छात्रा च्याम्पियनसिपलाई छनोट गरेमा चौथो स्थान प्राप्त गर्नेे खेलाडी जुनियर फाइनल चरणका लागि छनोट हुने छन्। फाइनल चरण पनि स्वीस प्रणाली अन्तरगत ९ चरणकै हुने आयोजकले जनाएका छन्।
नेपाल रहेको जोनको प्रतियोगिता बंगालादेश समय अनुसार बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म हुने छ। प्रत्येक खेलाडीहरुले प्रतियोगिता सुरु हुनु अगावै अनलाइनमा दर्ता हुनु पर्ने छ। प्रतियोगिता सुरु भए पश्चात कुनै पनि खेलाडीलाई प्रतिस्पर्धामा सामेल गराइने छैन। खेलाडीहरुले प्रतिस्पर्धा समयसम्म अनलाइनमानै रहनु पर्ने छ। कुनै पनि खेलाडीहरुले आर्बिटरको अनुमति बेगर आफ्नो कुर्सी छोड्न पाउने छैनन्।
विजेतालाई एसियन जुनियर (छात्रा) अनलाइन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै शीर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद १ हजार ५ सय, १ हजार र ५ सय डलर, स्वर्ण, रजत र कास्य, तथा प्रमाण पत्र प्रदान गरिने छ। यस्तै महिला तर्फ शिर्ष तीनले ७ सय ५०, ५ सय र २ सय ५० डलर नगद पुरस्कारका सहित स्वर्ण, रजत र कास्यका साथै प्रमाण पत्र प्राप्त गर्ने छन्।
यस्तै नेपाल चेस संघले बैकल्पिक खेलाडीहरुलाई अनलाइनल मार्फत हुने च्याम्पियनसिपलाई अध्ययन गर्न र अनलाइनमार्फत नै जुनियर खेलाडीहरुलाई विभिन्न प्रशिक्षण कार्यक्रमका साथै युथ इम्पावरमेन्ट सेमिनार पनि संचालन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।