तेह्रथुम- तेह्रथुमका ३४ जना क्रियाशील पत्रकाहरुको कोरोना बिमा लक्ष्मीनारायण मिश्रले गरिदिएका छन्। नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको समन्वयमा मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति मिश्रले आफ्नी स्वर्गीय आमा लक्ष्मीदेवीको स्मृतिमा पत्रकारहरुको कोरोना बिमा गरिदिएका हुन्।
मिश्रले कोरोना महामारीका बेला जिल्ला र जिल्लाबाहिर गएरसमेत अग्रपंक्तिमा रहेर काम गरिरहेका तेह्रथुमे पत्रकारको कोरोना बिमा गरिदिएका हुन्। जिल्ला शाखाका १३ जना, जिल्ला बाहिर गएर पत्रकारिता गरिरहेका १४ जना र समृद्ध तेह्रथुमका लागि अभियानद्धारा सञ्चालित रेडियो तेह्रथुमका ७ जना गरी ३४ जना पत्रकारको एक–एक लाख रुपैयाँको वार्षिक बिमा गरिएका पत्रकार महासंघ जिल्ला शाखा सभापति नरेश ढुंगानाले जानकारी दिए। बीमाका कारण अग्रपंक्तिमा बसेर पत्रकारिता गरिरहेका पत्रकारलाई हौसला मिलेको उनले बताए।
'महामारीका बेला स्वास्थ्य, सुरक्षा, सञ्चार र निजामती सेवा क्षेत्र अग्रपंक्तिमा रहेर खटिएको छ। तर सञ्चारबाहेकको क्षेत्रलाई मात्रै राज्यले सेवासुविधाको व्यवस्था गरेको छ,' गणतन्त्र दिवसका दिन बिहीबार बिमालेख हस्तान्तरण गर्दै मिश्रले भने, 'त्यसैले अग्रपंक्तिमा खटिएर काम गर्ने पत्रकारहरुको बीमा गरिदिन प्रोत्साहित भएँ।’
मिश्रकी आमा लक्ष्मीदेवीको गत वर्ष ९० वर्षको उमेरमा देहावसान भएको थियो। मिश्र जिल्लामा क्रियाशील सञ्चार गैरसरकारी संस्था संमृद्ध तेह्रथुमका लागि अभियानका निर्देशकसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।