काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजना अन्तर्गतका योजनाहरू सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।
लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँग बुधवार ‘भर्चुअल मिटिङ’ गर्दै मन्त्री भट्टराईले लकडाउनको समय भएपनि सामाजिक दूरीलगायतका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दैै स्थानीय तहहरूसमेतको समन्वयमा निर्माण तथा अन्य काम सुचारु गरिरहन निर्देशन दिएका हुन्।
मन्त्री भट्टराईले निर्माण सम्पन्नको चरणमा रहेको पाँच हजार मानिस अट्ने ध्यान केन्द्र सभाहल निर्माणको काम चाँडो सक्न समेत निर्देशन दिएका छन्। त्यस्तै, मन्त्री भट्टराईले कोषका पदाधिकारीहरूलाई अन्तर्राष्ट्रिय बुद्धिस्ट संगठनहरूसँग पनि भर्चुअल बैठक गरी कोराना महामारीविरुद्ध आफ्ना तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाएका थिए।
भुर्चअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना शाखा प्रमुख सरोज भट्टराई सहभागी थिए।
लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधीबारे कोषका पदाधिकारीहरुले मन्त्री भट्टराइलाई जानकारी गराएका थिए।
लुम्बिनी विकास कोषले कोभिड–१९ का लागि स्थानीय नगरपालिकाको कोषमा १५ लाख नगद जम्मा गरेको समेत कोषका सदस्य सचिव ज्ञानिन राईले बताए। उनले लुम्बिनी क्षेत्र आसपासमा रहेका २२ वटा क्वारेन्टाइनमा समेत विभिन्न खाद्य सामग्री, माक्स सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री समेत प्रदान गरेको उनले बताए।
सदस्य सचिव राईले लुम्बिनी क्षेत्रमा ध्यान केन्द्रको काम अन्तिम चरणमा पुगेको बताउँदै कर्मचारी आवास गृह, पोखरीको वरिपरी विश्राम स्थल निर्माण गर्ने काम लकडाउनको समयमा पनि नरोकिएको बताए। सानोतिनो गरेर दर्जनौं निर्माणको काम समेत भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।