काठमाडौं– विदेशमा अप्ठ्यारोमा परेका नेपाली फर्काउनका लागि सरकारले अवधारणापत्र तयारी थालेको जानकारी दिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार विदेशबाट फर्किएका नेपालीको व्यवस्थापनको जिम्मा पाएसँग सिसिएमसीले अवधारणा पत्र तयारी थालेको श्रम मन्त्रालय स्रोतले जनाएको छ। केही दिनमै अवधारणा पत्र तयार हुने स्रोतको दाबी छ।
‘कतिपय व्यवस्थापनका काम अझै बाँकी छन्। विदेशबाट कामदार फर्काउने काम सुरु गर्न अझै १५ दिन जति लाग्न सक्छ,’ श्रम मन्त्रालयका एक अधिकारीले नेपाल लाइभसँग भने। मन्त्रिपरिषदको निर्णयअनुसार विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काएपछि व्यवस्थापनको जिम्मेवारी कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ( सिसिएमसी)ले पाएको छ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै स्वदेश फर्कनुपर्ने अवस्थाका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थापनसम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने उद्घोष गरिसकेका छन्।
विदेशबाट नेपाली फर्काउँदा गर्भवती, खानबस्न समस्या भएका, रोजगारी, घुमफिर वा विभिन्न कारणले विदेश पुगी भिसा अवधि सकिएर अलअपत्र परेका, कोरोनाका कारण कम्पनी बन्द भएर वा विभिन्न कारण रोजगारी गुमाएर अलपत्र परेका, अवैध रूपमा रहेर आममाफी पाएका वा आफन्तको काजकिरियामा आउन नपाएकाहरुलाई प्राथमिकताका साथ फर्काइने तयारी सरकारले थालेको छ।
स्वदेश फर्किनुपर्ने अवस्थाका श्रमिकहरूको तथ्यांक संकलनको काम गैरआवासीय नेपाली संघ (एनआरएन)को सहयोगमा कुटनीतिक नियोगहरुले गरिरहेका छन्।
पहिलो चरणमा दूतावासहरूमार्फत् मलेसिया लगायत खाडी मुलुकबाट तत्काल स्वदेश फर्काउन आवश्यक रहेका नेपालीहरूको संख्या संकलन गरी परराष्ट्र मन्त्रालयमा प्राप्त भएको थियो। त्यसमा २५ हजार तत्काल फर्काउन पर्ने अवस्थाका नेपाली भनिए पनि समस्या बढ्दै गएसँगै संख्या बढ्ने अनुमान गरिएको छ। यो समयमा विदेशबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या करिब १० लाख रहेको अध्ययनले देखाइसकेको छ। तर सरकारले स्वदेश फर्किन चाहाने सबैलाई तत्काल फर्काउन नसकिने जनाएको छ।
विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने कार्यबारे छलफललाई तीव्र बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तथा कोभिड-१९ उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद विडारीले नेपाल लाइभलाई जानकारी दिए।
‘विदेशबाट प्राथमिकताका आधारमा फर्काउने र स्वदेशमा कसरी व्यवस्थापन गर्ने सम्बन्धका छलफल भइरहेको छ। तर कहिले देखि ल्याउन सुरु गर्ने टुंगो भएको छैन,’ सदस्य सचिव विडारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।