म्यानचेस्टर– म्यानचेस्टर डर्बी र च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लिभरपुलसँग नमिठो हारपछि म्यानचेस्टर सिटी फर्ममा फर्किएको छ।
सिटीले प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिगको चौथो स्थानमा रहेको टोटनह्यामलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। सिटीको जितमा ग्राबियल जेससले २२ मिनेटमा पहिलो गोल गर्दा गोन्डगनले २५ मिनेटमा अग्रता दोब्बर पारे। टोनटह्यामका एरिकसनले ४२ मिनेटमा गोल गरेपछि खेल २–१ को स्थितिमा आयो। ७२ मिनेटमा रहिम स्टलिङले सिटीका लागि तेस्रो गोल गर्दै आफ्नो टिमलाई जिततर्फ डोहोर्याए।
लिगका अन्य खेलमा चेल्सीले साउथह्याम्टनलाई ३–२ गोलले हराएको छ। यता लिभरपुलले वर्नमाउनलाई ३–० गोलले पराजित गरेको।
शीर्ष स्थानको सिटीले ३३ खेलबाट ८७ अंक जोडेको छ। अब सिटीले बाँकी रहेका ६ खेल मध्ये १ खेलमा जित पारे उपाधि जित्नेछ। आइतबार दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई वेस्ट ब्रुमले हराएपनि सिटी च्याम्पियन बन्नेछ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७१ अंक छ भने तेस्रो स्थानको लिभरपुलको ७० अंक तथा चौथो स्थानको टोटनह्यामको ६७ अंक छ। ६० अंक जोडेको चेल्सी पाँचौ र ५४ अंक जोडेको आर्सनल छैटौं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।