एजेन्सी- कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि भन्दै अमेरिकाद्वारा मङ्गलबारदेखि ब्राजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ।
अमेरिकाले यस पहिले गरेको निर्णयमा ब्राजिलबाट अमेरिका प्रवेशमा बिहीबारदेखि प्रतिबन्ध लगाउने बताइएको थियो। यो निर्णय अमेरिकी नागरिकका लागि भने लागू नहुने अमेरिकाले जनाएको छ।
ह्वाइट हाउसले स्थानीय समयअनुसार सोमबार आफ्नो पूर्व निर्णयमा परिवर्तनको घोषणा गरेको हो।
जोन्स हपकिन्स युनिभर्सिटीको तथ्याङ्कअनुसार ब्राजिल कोरोना भाइरस सङ्क्रमणका हिसाबले अमेरिकापछि दोस्रो स्थानमा रहेको छ।
ह्वाइट हाउसले ब्राजिलको स्थिति ल्याटिन अमेरिकाको सबैभन्दा बढी प्रभावित देशको रूपमा आइतबार बताएको छ। यो प्रतिबन्धको घोषणाले अमेरिकामा थप सङ्क्रमितको सङ्ख्यालाई नियन्त्रण गर्न मद्दत गर्ने अमेरिकाको विश्वास छ।
प्रतिबन्ध अमेरिकी नागरिक वा कानूनीरूपमा स्थायी बासिन्दाका रूपमा प्रमाणित विदेशी नागरिक र उनीहरूका पति, पत्नी, आमाबाबु तथा बच्चाहरूमा लागू हुँदैन।
अमेरिकामा मंगलबारसम्ममा विश्वकै सबैभन्दा बढी १७ लाख आठ हजार २ सय ६५ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ब्राजिलमा विश्वकै दोस्रो धेरै ३ लाख ७६ हजार ६ सय ६९ सङ्क्रमित रहेका छन्।
विश्वमा धेरै सङ्क्रमण भएका अन्य मुलुकहरूमा रूसमा ३ लाख ६२ हजार ३ सय ४२, स्पेनमा २ लाख ८२ हजार ४ सय ८०, बेलायतमा २ लाख ६१ हजार १ सय ८४, स्पेनमा २ लाख ३० हजार १ सय ५८ र फ्रान्समा एक लाख ८२ हजार ९ सय ४२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।