काठमाडौं- कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा सिर्जित समस्यासँग जुध्नका लागि एसियाली विकास बैंक (एडिबी)ले २५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ।
एडीबीका अध्यक्ष मासात्सुगु असाकावाले एडीबीको सहयोगबाट सरकारले विपन्न र जोखिममा रहेको समुदायलाई सामाजिक सुरक्षा प्रदान गर्ने र आर्थिक पुनरोत्थानको चरणमा प्रवेश गर्ने उल्लेख गरेका छन्। त्यस्तै, उनले नेपाल सरकार र अन्य दातृ निकासँग निकट रहेर समन्वयात्मक ढंगले प्रभावकारी सम्बोधनका लागि काम गर्ने बताएका छन्।
‘कोभिड–१९ प्यान्डामिक रेस्पोन्स अप्सन’ विकासशील सदस्य राष्ट्रहरुलाई कोरोना भाइरस महामारीको प्रतिकार्यका लागि एडीबीको २० अर्ब अमेरिकी डलर बराबरको विस्तारित सहायताको एक अंगका रुपमा गत महिना स्थापना गरिएको हो।
यसका अतिरिक्त, एडीबीको यस सहयोग अन्तर्गत सरकारद्वारा सामाजिक सुरक्षाका कार्यक्रम विस्तारित रुपमा सञ्चालन गर्न, विपन्न र जोखिममा रहेका घरपरिवारलाई खाद्यवस्तु वितरण गर्न, महिला र विदेशबाट फर्कने कामदारलाई प्राथमिकतामा राखेर बरोजगार तथा विपन्नलाई रोजगारी सिर्जना गर्न परिचालन हुनेछ।
साथै, लघु, साना तथा मझौला उद्यम व्यवसायका लागि सहुलियत कर्जाको व्यवस्था गर्न प्रयोग गरिनेछ। लघु, घरेलु र साना उद्यम व्यवसायमध्ये ३० प्रतिशत महिलाले नेतृत्व गरेका छन् र त्यी मध्ये पनि आधा विपन्न समुदायबाट प्रतिनिधित्व गर्छन्।
एडीबीले यसअघि संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)सँगको सहकार्यमा नेपाललाई ३ लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। यो अनुदान अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को तत्काल आपूर्तिका लागि उपलब्ध गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।