काठमाडौं- मुलुकमा सञ्चालित उद्योगको संख्यामा वृद्धि भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार मुलुकमा उद्योगको संख्या गत वर्षको तुलनामा चालु वर्षमा ३ सय ८० वटाले बढेका हुन्।
सर्वेक्षणअनुसार देशमा ११ सय ६२ ठूला, १८ सय ४६ मझौला र ५२ सय ४ वटा साना उद्योग गरी कूल ८ हजार २ सय १२ उद्योग सञ्चालनमा छन्। गत वर्ष १ हजार ७८ ठूला, १६ सय ९८ मझौला र ५ हजार ५६ वटा साना उद्योग गरी कूल ७ हजार ८ सय ३२ वटा उद्योग सञ्चालनमा थिए।
सर्वेक्षणमा उल्लेखित विवरणअनुसार ठूला उद्योगको औषत रोजगारी सिर्जना १४० जना छ। यो गत वर्ष १४३ थियो। यसैगरी मझौला उद्योगबाट सिर्जित रोजगारी औषतमा ९० छ। यो संख्या गत वर्ष ९३ थियो। यसैगरी साना उद्योगबाट सिर्जित रोजगारीको संख्या गत वर्ष औषतमा ५५ जना भएकोमा यो वर्ष बढेर ७५ पुगेको छ।
उद्योगमा भएकोकूल लगानी गत वर्ष १८ खर्ब २३ अर्ब ७६ करोड रूपैयाँ रहेकोमा यो वर्ष बढेर २१ खर्ब १ अर्ब ४५ करोड पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।