काठमाडौं- नेपालीको कूल गार्हस्थ बचत घटेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा उपभोग बढ्दा बचत घटेको हो।
आर्थिक वर्ष २०७६/७७ मा कुल उपभोग र कूल गार्हस्थ्य बचत कूल गार्हस्थ्य उत्पादनको क्रमश: ८१.९ प्रतिशत र १८.१ प्रतिशत रहने अनुमान मन्त्रालयले गरेको छ। गत वर्ष कूल गार्हस्थ बच कूल गार्हस्थ उत्पदानसँगको अनुपातमा २०.५ प्रतिशत थियो। तथ्यांकअनुसार कूल गार्हस्थ उत्पादनको तुलनामा बचत २.४ प्रतिशत विन्दूले घटेको छ।
गत आर्थिक वर्षको ८ महिनामा कूल गार्हस्थ उत्पादनसँग उपभोगको अनुपात ७९.५ प्रतिशत थियो। उपभोग बढ्दा बचत कम भएको आर्थिक सर्वेक्षणमा जनाइएको छ।
प्रतिव्यक्ति आय बढे पनि बचत भने घटेको तथ्यांकमा जनाइएको छ। नेपालीको प्रतिव्यक्ति आय १ लाख २६ हजार रूपैयाँ पुग्ने अनुमान गरिएको छ। गत वर्ष १ लाख १७ हजार रूपैयाँ पुग्ने अनुमान गरिएको थियो।
कोभिड -१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट सार्वजनिक र निजी क्षेत्रको खर्चमा आएको संकुचनले आर्थिक वर्ष २०७६/७७ मा कुल लगानी गत आर्थिक वर्षको तुलनामा ३.४ प्रतिशतले न्यून भई १८ खर्ब ८९ अर्ब २६ करोड रूपैयाँ हुने मन्त्रालयको अनुमान छ।
आर्थिक सर्वेक्षणमार्फत फागुनसम्म अर्थतन्त्रा अन्य सूचक सन्तोषजनक रहे पनि त्यसपछि बिग्रिएको जनाइएको छ। 'मूल्यवृद्धि, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन, लगानी र वित्तीय परिसूचकहरु आर्थिक स्थायित्व अनुकूल हुँदै गएका छन्,' सर्वेक्षणमा भनिएको छ, 'निकासीमा भएको वृद्धि र पैठारीमा भएको कमीका कारण व्यापार घाटामा सुधार भइ शोधनान्तर स्थिति बचतमा रहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।