काठमाडौं- आर्थिक वर्ष २०७५/७६ सम्ममा अस्तित्वमा रहेका सार्वजनिक संस्थानहरूमध्ये २६ संस्थान नाफामा संचालन भइरहेको देखिएको छ। ५ संस्थानको कारोबार शून्य रहेको र १३ संस्थान नोक्सानीमा रहेका छन्।
जनकपुर चुरोट कारखाना, विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रशारण ग्रिड कम्पनी व्यावसायिक रुपमा सञ्चालन भएका छैनन्। नोक्सानीमा रहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नासाइट प्रालि, बुटवल धागो कारखाना लिमिटेड सञ्चालनमा छैन भने नेपाल रेल्वे कम्पनी लिमिटेड निर्माणाधीन अवस्थामा रहेको छ।
नाफामा सञ्चालित २६ संस्थानको खुद नाफा १७ प्रतिशत र नोक्सानीमा सञ्चालित १३ संस्थानको खुद नोक्सानी ३०६ दशमलव ५८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७५/७६ मा सेयर धनी कोष र नेट वर्थ गत आर्थिक वर्षको तुलनामा २१ दशमलव ०१ प्रतिशतले वृद्धि भई ६ खर्ब १० अर्ब ५९ करोड ४२ लाख रुपैयाँ बराबर पुगेको छ।
समिक्षा अवधिमा संस्थानमा कुल लगानी गत आर्थिक वर्षको तुलनामा २७ दशमलव ३६ प्रतिशतले वृद्धि भई ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख पुगेको छ। सेयर लगानी गत आर्थिक वर्षको तुलनामा ३५ दशमलव ६७ प्रतिशतले वृद्धि भई २ खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने ऋण लगानी १७ दशमलव २३ प्रतिशतले वृद्धि भई १ खर्ब ९२ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबर पुगेको छ।
आर्थिक वर्ष २०७५/७६ मा सार्वजनिक संस्थानको समग्र वित्तीय स्थिति सकारात्मक रहेको छ। आर्थिक वर्ष २०७४/७५ मा संस्थानको कुल सञ्चालन आय ३ खर्ब ९० अर्ब ९२ करोड ६६ लाख भएकोमा गत आर्थिक वर्षमा २० दशमलव २९ प्रतिशतले वृद्धि भई ४ खर्ब ७० अर्ब २६ करोड २५ लाख पुगेको छ। खुद नाफा गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ३६ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७५/७६ मा ४८ अर्ब ७७ करोड ४१ लाख पुगेको छ।
सार्वजनिक संस्थानबाट प्राप्त हुने लाभांश आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव २८ प्रतिशतले कमी आई जम्मा ९ अर्ब ४७ करोड ९ लाख रुपैयाँ प्राप्त भएको छ। आर्थिक वर्ष २०७५/७६ मा सञ्चित नाफा र सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा क्रमशस् ३ दशमलव ८३ प्रतिशत र २७ दशमलव ३३ प्रतिशत कमी आएको भए तापनि समग्र सञ्चित नाफा २८ दशमलव ९३ प्रतिशतले वृद्धि भई ५१ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबर पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।