काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुमको चौरजहारी घटनाका दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको निष्पक्ष र गहिरो छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका हुन्।
घटना नृशंश हत्याकाण्ड भएको भन्दै कांग्रेसले लकडाउनका समयमा सुरक्षा प्रशासनले युवाको समूहलाई रोक्न नसकेको प्रति समेत सचेत गराएको छ।
कांग्रेसले घटनाले तीन प्रश्न उब्जाएको समेत उल्लेख गरेको छ। घटनाले सामाजिक विभेद र विसंगति, राज्य प्रशासन तथा अनुसन्धान र दण्डको प्रश्न उब्जाएको कांग्रेसले उल्लेख गरेको छ।
घटनामा जीवन गुमाएका नवराज विक, टिकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै कांग्रेसले भेरी नदीमा बेपत्ता भएका अन्य युवाको तदारुकता साथ खोजी गर्न नेपाल सरकारसँग मागसमेत गरेको छ भने साथै घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरेको छ।
कांग्रेसको प्रवक्ताको विज्ञप्ति जस्ताको तस्तै
रुकुम पश्चिममा नृशंस हत्याकाण्ड भएको खबर लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसंग सम्पर्कमा रहेको छ। घटना गम्भीर छ र यसले केही गम्भीर प्रश्नहरु उब्जाएको छ। देशलाई नै स्तब्ध बनाएको घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर कुनै मोलाहिजा बेगर दोषीलाई कडा कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ ।
घटनाले उब्जाएको ३ प्रश्न
(१) सामाजिक विभेद र विसंगतिको प्रश्न
कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद् छ। नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ। प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ।
(२) राज्य प्रशासनको भूमिकामा प्रश्न
लक डाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो । राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा । नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रिय सरकारको धारणा माग गर्दछ ।
(३) निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न
केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत हामीले पाएका छौं । जातीय विभेदको संकुचित मनोबिज्ञानले निहत्था युवाहरू माथि आक्रमणको कार्य गर्ने जो कोहि हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनत अधिकतम दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ ।
घटनामा जीवन गुमाएका नवराज बिक, टिकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै नेपाली कांग्रेस भेरी नदिमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न नेपाल सरकार समक्ष आग्रह र माग गर्दछ। साथै घाइते युवाहरूको सिघ्र स्वास्थलाभको कामना गर्दछ ।
जय नेपाल !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।