काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संसदमा आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। मुलुकको आर्थिक गतिविधि समग्र आर्थिक स्थिति, आर्थिक सूचक परिसूचकहरुको अवस्था र विश्लेषणसमेत समावेश गरी तयार गरिएको आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गरेका हुन्।
आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कोरोना अघि मुलुकको अर्थतन्त्र र व्यापारका क्रियाकलापहरु सन्तोषजनक रहेको बताएका छन्। मुद्रास्फीति, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन, लगानी र वित्तीय परिसूचकहरु आर्थिक स्थायित्व अनुकुल हुँदै गएको अर्थमन्त्री खतिवडाको भनाइ छ। फागुनसम्म मुलुकको अर्थतन्त्र र आर्थिक क्रियाकलापमा तीव्रता आए पनि कोभिड १९ का कारण विश्व अर्थतन्त्र नै प्रभावित बनेको र त्यसको असर नेपालको अर्थतन्त्रमा पनि पर्न गएकाले चालु आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा खुम्चने बताएका छन्।
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन प्रचलित मूल्यमा गत वर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ रुपैयाँ (१ हजार ८५) अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा कुल उपभोग र कुल ग्राहस्थ बचत कुल ग्राहस्थ उत्पादनको अनुपातमा क्रमशः ८१ दशमलव ९ र १८ दशमलव १ प्रतिशत रहने अनुमान गरिएका छ।
कोभिड १९ को रोकथाम एवं नियन्त्रणका लागि चालिएका कदमहरुबाट सार्वजनिक एजं निजी क्षेत्रको खर्चमा आएको संकुचनले चालु आर्थिक वर्षको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ३ दशमलव ४ प्रतिशतले न्यून भई १८ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ बराबर पुगेको छ। आर्थिक वर्ष २०७४/७५ मा १८ दशमलव ७ प्रतिशत रहेको निरपेक्ष गरिबीमा रहेका जनसंख्या २०७६/७७ मा १६ दशमलव ६७ प्रतिशतमा रहने अनुमान गरिएको छ।
त्यस्तै, निकासीमा भएको वृद्धि र आयातमा भएको कमिका कारण व्यापार घाटामा कमि आई अहिले शोधनान्तर स्थिति बचतमा रहेको छ। विगत केही वर्षदेखि मुद्रास्फीति पछिल्लो १ वर्षको औसत भन्दा तल रहेको छ। चालु आर्थिक वर्षमा उपभोक्ता औसत मुद्रास्फीति ६ दशमलव ५ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो मुद्रास्फीति दर ४ दशमलव २ प्रतिशतभित्र कायम रहन सकेको थियो।
चालु आर्थिक वर्षको पहिलो ८ महिना अवधिमा कुल सरकारी खर्च गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२ दशमलव ९ प्रतिशतले वृद्धि भई ६ खर्ब १० अर्ब ६८ करोड पुगेको छ। सरकारी खर्चमध्ये चालुखर्च ४ खर्ब ५० अर्ब ७८ करोड, पुँजीगत खर्च ९६ अर्ब ४८ करोड र वित्तीय व्यवस्थातर्फ ६३ अर्ब ४२ करोड खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।