काठमाडौं- प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाको जवाफपछि बोल्दै सांसदहरुले यो घटनामा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नहुने माग गरेका छन्। राजनीतिक आवरणमा कसैलाई पनि सफाई दिने र आझेलमा पार्ने कार्य गर्न नहुने उनीहरुले माग गरेका छन्।
सांसदहरुले यो घटनाको छानबिन गर्न उच्चस्तरीय संसदिय छानबिन समिति गठन गर्न पनि माग गरेका छन्। सांसदहरुले गृहमन्त्रीलाई यो घटना ढाकछोप नगर्न चेतावनी पनि दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अमरेशकुमार सिंहले गृहमन्त्रालयको नेतृत्वमा गठन हुने समिति ढाकछोपका लागि हुने भन्दै संसदीय समिति गठनको माग गरे।
सांसद लक्ष्मी परियार वडाध्यक्ष पनि पक्राउ परेको गृहमन्त्रीले बताएको तर हाल वडाध्यक्ष छुटेको उनले बताइन्। 'के जनप्रतिनिधिलाई उन्मुक्ति दिनुपर्ने हो,' उनले प्रश्न गरिन्।
सांसद निरुदेवी जैरुले यस्ता घटना उठ्ने र सेलाउन हुदै आएको भन्दै रुकुम पश्चिमको घटना अब सेलाउन नसक्ने बताइन्। सांसद सुजाता परियारले यो घटनामा संलग्न सवैलाई छानबिन गर्न संसदीय समिति बनाउन माग गरिन्। सांसद शरदसिंह भण्डारीले पनि संसदिय छानबिन समिति बनाउन माग गरे।
सांसद विमला परियारले सानो जात भएकै कारण अझ कतिले ज्यान गुमाउने हो भन्दै दलितका छोराछोरी कति दिन बलत्कार हुने, झुन्डिने कार्य कहिलेसम्म हुने हो? भन्दै प्रश्न गरिन्।
सांसद प्रकाश रसाइली स्नेहीले यो अपराध मात्र नभई अपराधको परकाष्ठा भएको टिप्पणी गरे। उनले संसदीय समिति गठन गर्न माग गरे। वडाध्यक्षकै संलग्नतामा घटना भएको भन्दै उनले उनीलाई उन्मुक्ति दिन नमिल्ने बताए।
किटानी जाहेरी आएको छैन भनेर प्रहरीले वडाध्यक्षलाई थुन्न अस्वीकार गरेको प्रति पनि उनले गृहमन्त्रीको जवाफ माग गरे। सांसद दिलेन्द्रप्रसाद बडुले यो घटना निष्पक्ष ढंगमा संसदीय छानबिन हुनुपर्ने माग गरे। सांसद दुर्गा पौडेलले जति निन्दा गरे पनि यो घटनामा कम हुने बताइन्। यसको निष्कक्ष छानबिन गरेर कडा कारबाही गर्न माग गरिन्।
जेठ १० गते जाजरकोटका युवा नवराज विकसहित १८ जनाको टोली विककी प्रेमिकालाई लिएर आउन रुकुम पश्चिमको चौरजहारी पुगेको थियो। तर युवतीका आफन्तले उनीहरूमाथि आक्रमण गरेका थिए। आक्रमणबाट विकसहित ३ युवाको शव भेटिएको छ भने अन्य ३ जना अझ बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।