बार्सिलोना– स्पेनिस ला लिगामा भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। पछिल्ला ३९ खेलमा अपराजित रहेको बार्सिलोनाले यो जितसँगै इतिहास बनाएको छ।
ला लिगामा ३९ खेलसम्म अपराजित रहेको बार्सिलोना एक मात्र टिम हो। यसअघि १९७८–७९ र १९७९–८० दुवै सिजनमा रियल सोसिडाडले ३८ खेलसम्म अपराजित रहँदै इतिहास रचेको थियो।
भ्यालेन्सियाका नेटोलाई छलाउँदै फिलिप कौटिन्होले दिएको पासलाई लुइस स्वारेजले गोल गर्दै खेलको १५ मिनेटमै टिमलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको छैटौं मिनेटमा सामुइल युम्टिटीले दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे।
उता बार्सिलोनाका ओस्माने डेम्बेलेले आन्द्रेस पेरेइरालाई लडाएपछि भ्यालेन्सियाले पेनाल्टी पायो। खेल सकिन ३ मिनेट बाँकि रहँदा पाएको पेनाल्टीमा ड्यानी परेजोले भ्यालेन्सियाका लागि सान्त्वना गोल गरे।
जितसँगै बार्सिलोनाले अंक तालिकामा दोस्रो स्थानमा एथ्लेटिको मड्रिडसँगको दुरी १४ पुर्याएको छ। ८२ अंक जोडेको बार्सिलोनालाई यो सिजनको लालिगा उपाधिका लागि मात्र ७ अंकको आवश्यकता छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।