काठमाडौं- सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको भन्दै महासेनानी भुपाल अधिकारीलाई सैनिक अदालतले २ महिना कैदको फैसला सुनाएको छ। सैनिक आवासीय महाविद्यालय, भक्तपुरमा कार्यरत रहँदा उक्त कसुर गरेको भन्दै समरी जनरल सैनिक अदालतले उनलाई २ महिना कैदको सजाय सुनाएको हो।
२ महिना कैदसँगै अधिकारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाएको छ। सँगै गैरकानूनी रुपमा आर्थिक उपार्जन गरेको ठहर भएपछि १ करोड ५० लाख ४० हजार बिगोसमेत उनीबाट असुल उपर गर्नु पर्ने सैनिक अदालतले फैसला सुनाएको छ।
त्यस्तै प्रमुख सेनानी देवबहादुर क्षेत्रीले समेत आर्थिक अनियमितता गरेको ठहर गर्दै उनको दुई वर्षसम्म बढुवा रोक्का गर्ने र उनीबाट ४ लाख ४० हजार रुपैयाँ असुलउपर गर्ने फैसला सुनाएको छ।
सोही कसुरका हुद्दा यज्ञराज पोखरेललाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउनु पर्ने फैसला सुनाएको छ। उनीबाट ३ लाख ६० हजार असुल गर्नुपर्ने हुन्छ। हुद्दा गणेशबहादुर अधिकारीको हकमा दुई वर्षसम्मको तलव वृद्धि रोक्का र १० हजार असुल गर्नुपर्ने फैसला सुनाइएको छ।
लेखा अघिकृत सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई नसिहत र सोही मुद्दाका अन्य १३ जनालाई भने सफाइ दिइएको सैनिक अदालतले जनाएको छ।
सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित सैनिक आवासीय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न गत चैत २३ गते जंगी अड्डाले सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको गठन गरेको थियो। कोर्ट अफ इन्क्वायरी बोर्डको प्रतिवेदनका आधारमा तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा चैत ६ गते गठित समरी जनरल सैनिक अदालतले यस्तो फैसला सुनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।