राजविराज– नयाँ वर्ष तथा प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा ३ स्वर्णसहित ५ पदक विजेता सप्तरीका खेलाडीको स्वागतमा शनिबार राजविराजमा प्रभातफेरी सम्पन्न गरिएको छ।
जिल्ला खेलकुद विकास समितिले प्रभातफेरीको आयोजना गरेको हो। काठमाण्डौंवाट आजै बिहान राजविराज आइपुगेका विजेता खेलाडीसहित सुरु भएको प्रभातफेरीमा स्वस्थ रहन खेलकुद अनिवार्य रहेको सन्देश दिएको छ। प्रभातफेरीपछि खेलुकद विकास समितिको सभा हलमा औपचारीक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई स्वागत गरिएको हो।
चैत २८ र २९ गते ललितपुरमा सम्पन्न प्रतियोगिता अन्तर्गत सप्तरीका खेलाडीहरुले विभिन्न तौल समूहमा ३ स्वर्णसहित ५ पदक जितेका थिए। सहायक प्रशिक्षक पुनतीलाल यादवका अनुसार सिनियरतर्फ महिलाको ५३ केजी तौलमा सप्तरीकी सरस्वती चौधरीले ८५ केजी तौलका साथ रजत पदक पाएकी थिइन्।
जुनियरतर्फ महिलाको ५८ केजी तौलमा काजल यादवले ९७ केजीका साथ स्वर्ण पदक जितिन्। पुरुषको ५६ केजी तौलमा राम कुमार यादवले १८१ केजी तौलका साथ स्वर्ण तथा लालबाबु पासवानले १५३ केजीका साथ रजत पदक पाए। राम कुमार वेष्ट लिफ्टर पनि घोषित भएका छन्। पुरुषकै ६२ केजी तौलमा रमेश झाले १६० केजीका साथ स्वर्ण पदक जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।