काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दशरथ रंगशालाको मैदानमा क्वारेन्टिन बनाउनु उपयुक्त नहुने बताएका छन्। त्यसले राम्रो भइसकेको मैदान शून्यमा पुग्ने र पछि फर्किन गाह्रो हुने उनको भनाइ छ।
अखिल नेपाल फुटबल संघ सहिद स्मारक लिग समितिले गएको ए डिभिजन लिगको प्राविधिक तथा तथ्यांक रिपोर्ट प्रस्तुत गर्न गरिएको कार्यक्रममा अध्यक्ष शेर्पाले यस्तो बताएका हुन्। कोरोना भाइरस (कोभिड १९) का कारण सिर्जित परिस्थितिमा आफूहरु सहयोग गर्न तयार रहेको तर मैदान बिगार्न नहुनेमा पनि उति नै सचेत रहेको उनको भनाइ छ।
‘अहिले लकडाउनको समयमा पनि मैदानको रेखदेख भइरहेको छ। त्यसैले त्यहाँ क्वारेन्टिन नराखिदिन अनुरोध गर्दछौँ। त्यहाँ मैदान बिग्रियो भने मैदानको भाग फेरि शून्यबाट सुरु गर्नुपर्नेछ। बरु अन्य ठाउँको पहिचान र सहयोगका लागि एन्फाले काम गर्नेछ तर मैदानमा नराखौँ’ उनले भने।
एन्फाले यसअघि नै आफूसँग भएको दुईवटा एम्बुलेन्स कोरोनाविरुद्ध लड्न सहयोग होस् भनेर ललितपुर महानगरपालिकालाई सञ्चालनका लागि दिइसकेको छ। यस्तै एन्फाले आफ्ना एकेडेमीका भवनलाई आवश्यक परे क्वारेन्टिनका रुपमा प्रयोग गर्न खुला रहेको पनि बताइसकेको छ। जसअनुसार दुई नम्बर प्रदेशले एन्फाको रौतहटमा रहेको महिला फुटबल एकेडेमी भवन क्वारेन्टिनका रुपमा प्रयोगसमेत गरिरहेको छ।

अब खेलकुद गतिविधि सुरु गर्नुपर्छ
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका राखेपका अध्यक्ष रमेश सिलवालले विस्तारै पूरा तयारी गरेर खेल गतिविधिमा फर्कनुपर्ने तर्फ संकेत गरे।
‘चलिरहेको बी डिभिजन पनि कोरोनाकै कारण रोकियो। सबैको स्वास्थ्य जाँच गरेर खाली मैदानमा खेल गर्ने छलफल भइरहँदा कोरोना बढेर फेरि तर्साउने अवस्था आयो। अब विस्तारै खेल क्षेत्रलाई सामान्य अवस्थामा ल्याउनु त पर्छ नै। हौइन भने भयावह अवस्था आउन सक्छ’ उनले भने।
‘लकडाउन कहिले कतिसम्म जाने हो भविष्यवाणी गर्ने अवस्था छैन। सबै सुरक्षित हुने र खेल पनि चलायमान हुने स्थिति छिटो मिलाउने गर्नुपर्छ। कम्तिमा पनि राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीहरुलाई खेलमा लगाइरहन सक्नुपर्छ। कम क्षति भएका ठाउँबाट सुरु गर्न सकिन्छ कि भन्ने छ’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।