भैरहवा- हिन्दु धर्म संस्कृतिको जर्गेना गर्ने उद्देश्यले नयाँ वर्ष २०७५ को अवसरमा भैरहवामा संस्कृति रक्षा दौड गरिएको छ।
हिन्दु स्वयंसेवक संघ नेपाल भैरहवा विभागको आयोजनामा अन्तर्राष्ट्रिय बौद्ध महासंघका अध्यक्ष फु पु चेम्जे शेर्पा तथा रुपन्देही क्षेत्र नं ३ (१) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले दौडको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रदेशसभा सदस्य पाण्डेसहित करिब ६ सय जनाको सहभागिता रहेको थियो।
पुरस्कार जित्ने दौड मात्र नभई नयाँ वर्षलाई स्वागतको रुपमा गरिएको संस्कृति रक्षा दौड भैरहवाको लुम्बिनीरोडबाट सुरु भई बुद्धचोक, नारायण पथ, मिलनचोक, गल्लामण्डी, पिपरहिया चोक, बिपी पथ हुँदै पुन: लुम्बिनी गेटमा आएर समापन भएको थियो।
प्रतियोगितामा प्रथम हुने देवराज बस्नेतलाई नगद ५ हजार १ सय, द्वितीय हुने सत्येन्द्र यादवलाई ३ हजार १ सय, तृतीय हुने हेमन्त श्रीसलाई २ हजार १ सय र सान्त्वना हुनेद्वय अर्जुन थापा र मोहम्मद रफिकलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक राजेश मल्लले बताए।
संघले २०६८ सालदेखि नै नयाँ वर्षको अवसर पारेर संस्कृति रक्षा दौड कार्यक्रम आयोजना गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।