काठमाडौं- विभिन्न १० वटा निकायले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ अर्ब ८१ करोड रुपैयाँ बजेट सरेन्डर गरेका छन्। खर्च हुन नसक्ने रकम अर्थ मन्त्रालयसमक्ष सरेन्डर गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार उनीहरुले बजेट सरेन्डर गरेका हुन्।
मन्त्रालयका अनुसार यो अवधिमा सबैभन्दा धेरै रकम रक्षा मन्त्रालयले काठमाडौं-तराई मधेस फास्ट ट्रयाकको बजेट सरेन्डर गरेको छ। विनियोजित बजेटमध्ये खर्च हुन नसक्ने २ अर्ब ८३ करोड रुपैयाँ उसले सरेन्डर गरेको हो।
यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७२ करोड ६२ लाख रुपैयाँ सरेन्डर गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ५१ करोड ५७ लाख रुपैयाँ सरेन्डर गरेको छ।
परराष्ट्र मन्त्रालयले ३५ करोड ९१ लाख तथा राष्ट्रपति कार्यालयले ९ करोड ५० लाख रुपैयाँ सरेन्डर गरेको छ।
यस्तै निर्वाचन आयोगले २० करोड ३१ लाख रुपैयाँ, रक्षा मन्त्रालयले ५ करोड ६१ लाख रुपैयाँ सरेन्डर गरेको अर्थ मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।