काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई ३० दिने अल्टिमेटम दिएका छन्। ३० दिनभित्र उल्लेख्य सुधारको काम गर्न नसकेमा अमेरिकाले डब्लूएचओलाई स्थायी रुपमा गर्दै आएको सहयोग सँधैका लागि कटौती गर्ने ट्रम्पले चेतावनी दिएका हुन्।
ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनपरस्त भएको र चीनको कोरोनासम्बन्धी वास्तविक डेटा लुकाएको आरोप लगाउँदै आएका छन्।
राष्ट्रपति ट्रम्पले मंगलबार एक ट्वीट गर्दै डब्लूएचओका प्रमुख टेड्रोस घेब्रेयेससलाई पठाएको चिठी सार्वजनिक गर्दै यदि अबको ३० दिनभित्र पनि संगठनमा केही सुधार देखिएन भने अमेरिकाले गर्दै आएको सहयोग सँधैका लागि रोक्ने चेतावनी दिएका हुन्।
यसैगरी डब्लूएचओले आफ्ना कार्यमा उल्लेख्य सुधार नगरेमा दिँदै आएको रकम रोक्का गर्ने र आफ्नो राष्ट्र सदस्यको रूपमा समेत नरहने बताएका हुन्।
डब्लूएचओले चीनको प्रशंसा गरेको समेत ट्रम्पले आरोप लगाए। यसअघि पनि राष्ट्रपति ट्रम्पले कोरोना महामारी रोकथामका लागि अमेरिकाले डब्लूएचओलाई दिएको सहयोग आंशिक रूपमा रोक्ने घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।