काठमाडौं- नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको नीति तथा कार्यक्रमले लकडाउनले आहत भएका सर्वसाधारणलाई जीवनरक्षाको प्रत्याभुति दिन नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसधभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै उहाँले कोरोनाले निम्त्याएको समस्याबाट जनतामा रोगसँगै भोकले मर्ने चिन्ता बढेकाले तत्काल भोकको समस्या समाधान गर्ने तर्फ सरकारको कार्यक्रम लक्षित हुनुपर्ने बताएका हो।
'आजको प्राथमिकता भनेको अहिले बाँच्नु हो। अहिले बचाउनु हो। रोजगारी गुम्दैछन्। उद्योगधन्दा बन्द छन्,' सांसद् चौधरीले भने, 'सडकमा उभिएका दिनहुँ हातमुख जोर्नुपर्ने बाध्यता भएका कामदार कामविहिन छन्। नाङलो पसल, रिक्साचालक तथा समाजको हरेक वर्ग त्रसित छ। एकातर्फ कोभिडको कारण भने अर्को तर्फ कोभिड भन्दा पहिले भोकले मरिने हो कि? भन्ने त्रासबाट।'
उनले सरकारले अत्यावश्यक लगायतका उद्योग सञ्चालन गर्ने निर्णय गरेपनि उद्योग सञ्चालन हुने स्थिति सिर्जना हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए।
भएका उद्योग पनि सञ्चालन हुन नसकेको बेला नयाँ उद्योग खोलेर रोजगारी दिन्छु भन्ने सरकारको आश्वासन ‘दिवा सपना’मात्रै भएको टिप्पणी सांसद चौधरीको थियो।
'खुलेको उद्योग पनि चल्न सक्ने अवस्था रहेन भने भोलिको दिनमा नयाँ उद्योग खुल्नेछन् र स्वदेशी तथा विदेशबाट फर्किएका लाखौको संख्यामा रहेकालाई रोजगारी दिने सरकारको आश्वासन ‘दिवासपना’ मात्रै हो। सरकारको घोगषणाका बाबजुत प्राथमिकताका उद्योग, साईटहरु बन्द छन्,' चौधरीले थपे, 'स्थानीय प्रशासन भन्दा पनि स्थानीय तहको जनताको हातमा, त्यसमध्ये पनि त्रसित एकप्रकारको जमातको हातमा अहिलेको प्रशासनतन्त्र गएको स्थिति छ। ती उद्योगहरु चल्न सकेका छैनन्।'
बेरोजगारलाई रोजगारी दिन कृषि क्षेत्रलाई अघि सारिएको भएपनि उत्पादकत्व बढाउनुको साथै नेपाली उत्पादन नै उपभोग हुने अवस्था सिर्जना गर्न सरकारले विशेष अनुदानको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। नेपालको कृषि उत्पादन भारत र चाइनाको प्रतिस्पर्धामा ३० प्रतिशत भन्दा बढी महंगो पर्ने भएकाले विदेशी उत्पादन र नेपाली उत्पादनबीचको मूल्य भिन्नताको खाडल सामान्य नीतिले मात्रै पुर्न नसक्ने तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।