काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा भीम रावलले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई चुनौती दिएका छन्। यही अधिवेशनमा पास हुनुपर्ने देउवाको भनाइतर्फ लक्ष्य गर्दै उनले महाकाली सन्धी जस्तै राष्ट्रघाती हुने उल्लेख गरेका छन्।
प्रतिनिधीसभामा बोल्दै रावलले भने, 'नेपाली कांग्रेस संसदीय दलका नेताले यही अधिवेशनमा पारित गर्नुपर्छ भन्नुभयो। उहाँले महाकाली सन्धीमा पनि यस्तै भन्नुभएको थियो।' महाकाली सन्धी १०-१० वर्षमा पुनरावलोकन हुने र कार्यान्वयन गर्ने सम्झौता भएपनि नभएको बताए।
उनले विवादास्पद एमसीसी पछाडिको ढोकाबाट आउन खोजेको बताए। उनले नीति तथा कार्यक्रममा उल्लेख ती बुँदाहरु एमसीसी सम्झौता अनुसार नहुने विश्वास व्यक्त गर्दै भने, 'यदि सम्झौता अनुसार भयो भने राष्ट्रहित विपरित हुनेछ। एउटा स्वधीन देशका हैसियतमा आँच पुर्याहउने सम्झौता लागु हुनुहुँदैन। स्वाधिनता पैसामा साट्न सकिँदैन।'
यसैगरी अन्तरदेशीय उद्योग खोल्ने कुरा नीति तथा कार्यक्रममा आएको तर त्यस्तो गर्न मिल्ने कानुन नरहेको बताए। उनले अन्य चुनौती भएको बेला अस्पष्ट कुराहरु अघि सार्दा जनतामा भ्रम सिर्जना हुने बताए। उनले दुविधायुक्त र विवादस्पद कुरा अघि नबढ्ने विश्वास व्यक्त गरे। कोरोनाबाट देशलाई कसरी जोगाउने भन्ने र भारतीय अतिक्रमणबाट नेपाली भूभाग कसरी रोक्ने भन्ने दोहोरो चुनौती नेपालसामू रहेको उनले बताए।
लिम्पियाधुरा र कालापानी क्षेत्रबाट भारतको उपस्थिति हट्नुपर्ने माग उनको छ। बीचमा नेपालको नक्साबाट कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उनी बताउँछन्।
उनले भने, 'सवभन्दा पहिले हाम्रो भूभागभित्र स्वधीन नागरिक रहनौं भने विकास गर्न सक्दैनौं । विगतमा तीतो अनुभव गरेका छौं।' नीति तथा कार्यक्रम पिछडिएका जनता र श्रमजिवीमा केन्द्रीत जति हुनुपर्ने हो, त्यो प्रतिबिम्ब नपाएको उनले बताए। तर उनले त्यसलाई बजेटमा देख्ने आशा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।