काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)का कारण समग्र विश्व प्रभावित बनेको छ। वैदेशिक रोजगारीमा गएका श्रमिकहरु यसको प्रत्यक्ष मारमा परेका छन्। मलेसिया तथा खाडीका कतिपय मुलुकहरुमा लाखौँ नेपालीहरु समस्यामा छन्। कतिपयको रोजगारी गुमिसकेको अवस्था छ।
खान र बस्नसमेत समस्या भएर विदेशमा नेपाली युवाहरु बिचल्लीमा परेका घटनाहरु बाहिरिरहेका छन्। स्वदेश फर्कनका लागि सरकारसँग हारगुहार गरिरहेका नेपालीहरुलाई समेत सरकारले फर्काउन सकेको छैन। उनीहरुलाई पनि लकडाउनमा जो जहाँ छ त्यहीँ रहनुपर्ने भन्दै सरकारले यथास्थानमा रहन आग्रह गरिरहेको छ। तत्काल फर्काउन सक्ने अवस्था नरहेकाले खान बस्न समस्यामा परेका श्रमिकहरुको सहजीकरणका लागि कुटनीतिक नियोगहरुमार्फत पहल भइरहेको उल्लेख गरिएको छ।
अर्कोतिर विदेशमा कोरोना संक्रमित नेपालीहरुको संख्या बढ्दै गएको छ। कोरोनाका कारण ९५ नेपालीहरुले विदेशमा ज्यान गुमाइसकेका छन्। कोरोनाका कारण विदेशमा ज्यान गुमाउनेहरुको अन्त्येष्टी सम्बन्धित मुलुकमै गर्न सुरु गरिए पनि अन्य विभिन्न कारणले ज्यान गुमाउनेहरुका झण्डै डेड सय शव विदेशमा अलपत्र अवस्थामा छन्। यसै सन्दर्भमा रहेर वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठसँग नेपाल लाइभका लागि निर्मला घिमिरेले गरेको कुराकानीको सम्पादित अंशः
अहिले विशेषगरी खाडी र मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई खान बस्न समेत समस्या भएका घटनाहरु बाहिरिरहेका छन्। समस्या सहजीकरणका लागि बोर्ड के गर्दैछ?
बोर्डले अहिले ४ वटा महत्वपूर्ण काम गरिरहेको छ। ४ वटा महत्वपूर्ण काम भनेको लकडाउन सुरु हुनासाथ दुई हप्ताभन्दा बढी समय लगाएर अहिले कोभिड- १९ महामारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई कस्तो समस्या पर्न सक्छ‚ ती समस्याहरु तत्काल सम्बोधन गर्नलाई सरकारले के कस्तो रणनीतिक भूमिका खेल्नुपर्छ भन्ने कुरामा अध्ययन गरेर अन्ययन प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ। एउटा काम यो भयो। सोही प्रतिवेदनका आधारमा नियोगमार्फत तथ्यांक संकलन भइरहेको छ। पहिलो काम त्यो भयो।
हामीले बुझाएको रिपोर्टको आधारमा एउटा कार्ययोजना बनेको छ। यो कोभिड उच्चस्तरीय समन्वय समितिबाट स्वीकृत भयो भने बोर्ड, मन्त्रालयलगायत सबै सम्बन्धित निकायबाट कार्यान्वयनमा जान्छ।
दोस्रो काम युएई, बहराइन, साउदी, मलेसियालगायतका मुलुकमा खान बस्न समस्या परेका श्रमिकहरुको सहजीकरणका लागि बोर्डबाट पैसा पठाएका छौँ। अहिले तत्काल पठाएको ७० लाख हो। तर बोर्डबाट समस्यामा परेका नेपाली श्रमिकहरुको सहजीकरणका लागि नियमित रकम पठाइरहेका हुन्छौँ। नियोगले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक रकम माग गर्दछ। त्यसपछि परराष्ट्रले श्रम मन्त्रालयलाई सिफारिस गर्दछ। मन्त्रालयबाट निर्देशन आएपछि हामी परराष्ट्रमार्फत रकम पठाउँछौं।
अहिले अलपत्र परेका कामदारहरुलाई कम्तिमा खान बस्नलाई सहजीकरण हुनेगरी हामीले ७० लाख पठाएका हौं। नियोगमा त्यो रकम पुगिसकेको छ। अब नियोगहरुले खान, बस्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्छन्। तेस्रो काम शव व्यवस्थापन। अहिले १ सय ४४ भन्दा बढी शव अलपत्र परेका छन्। लकडाउन तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण शव ल्याउन सकिएको छैन। शवहरु थपिँदै गएको अवस्था छ। लकडाउन सुरु हुनुभन्दा अगाडि नेपाल ल्याउने तयारी भइरहेका ७० वटाभन्दा बढी शवहरु विदेशमा थिए। ती शवहरु ल्याउन नपाउँदै लकडाउन सुरु भयो। शवहरु थपिँदै गएर १ सय ४४ पुगे।
१ सय ४४ मध्येमा ५ वटाभन्दा बढी शव कोरोनाका कारण मृत्यु भएका श्रमिकहरुको छ। कोरोनाका कारण विदेशमा ज्यान गुमाएका श्रमिकहरुको हकमा हामीले उनीहरुका परिवारसँग सम्पर्क गरेर सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टीको लागि सहमति जुटाउने प्रयास गरिरहेका छौं। किनकी कोरोना भएर मृत्यु भएकाहरुको शव २४ घण्टाभित्र नष्ट गर्नुपर्ने अन्तर्राष्ट्रिय नियम नै छ। हामीले त परिवारबाट सहमति ल्याइदिन्छौं भनेर केही समयको लागि रोकेर राखेका छौं। परिवारसँग सहमति जुटाएर कोरोनाका कारण मृत्यु भएकाहरुको गन्तव्य मुलुकमै सदगद भइरहेको छ। अहिले हाम्रो कलसेन्टरबाट प्रत्येक मृतकका परिवारलाई सम्पर्क गरेका छौं। सम्पर्क गरेर परामर्श दिइरहेका छौं।
अन्य कारणबाट ज्यान गुमाएकाहरुको हकमा उनीहरुका हकवालाहरुलाई हामीले दुईवटा विकल्प दिएका छौं। उहाँहरुलाई एकातिर कोरोनाको त्रास अर्कोतिर आफन्त परिवारहरु आफ्ना प्रीयजनको शव महिनौंसम्म कुरेर बस्नुपर्ने दुःखद् परिस्थिति सिर्जना भएको छ। पीडामा शवको प्रतिक्षा गर्नेबाहेक अर्को विकल्प नदेखिएपछि यस्तो मानवीय संकटलाई ध्यानमा राखेर हामीले कोरोना बाहेक विभिन्न कारणले ज्यान गुमाएका मृतकका आफन्तहरुका लागि दुईवटा विकल्पको निर्णय गरेका छौं। शवको उतै दाहसंस्कार गर्न सहमति हुनुभयो भने हामीले उतै दाहसंस्कारको व्यवस्था मिलाउँछौं। यो लकडाउन अवधिमा गन्तव्य मुलुकमै शव दाहसंस्कार गरिएका मृतकका परिवारलाई बीमा सुविधा, बोर्डबाट प्राप्त हुने आर्थिक सहायतालगायत अन्य सुविधा त उहाँहरुले पाउनु नै हुन्छ। त्यसबाहेक सान्त्वना स्वरुप हामीले ५० हजार रकम दिने निर्णय पनि गरेका छौं।
गन्तव्य मुलुकमा अन्त्येष्टीको अनुमति दिने परिवारलालाई सान्त्वना राहतस्वरुप ५० हजार रुपैयाँ दिने बोर्डको निर्णय आलोचित भयो नि!
यो रकम सान्त्वना स्वरुपको रकममात्रै हो। जसरी हामी शोकाकुल परिवारमा जाँदा खाली हात जाँदैनौं। फलफूलहरु लिएर जान्छौं। त्यस्तै मानवीय संवेदनशीलताका हिसाबले सान्त्वना राहतस्वरुप सो ५० हजार रकम उपलब्ध गराउने निर्णय गरेका हौं। उतै दाहसंस्कार गर्नैपर्छ भनेर हामीले भनेको होइन। कुर्न सक्नुहुन्छ भने कुर्नुस्‚ कुर्न सक्नुहुन्न भने हामीलाई सहमति पत्र पठाइदिनुस् भन्नेभन्दा अरु केही विकल्प नदेखिएपछि हामीले यस्तो निर्णय गरेका हौं।
उहाँहरुका लागि अर्को विकल्प पनि छ। शव यतै ल्याउनुपर्छ भन्नुहुन्छ भने पनि हामी ल्याइदिन्छौं। अहिले देश लकडाउनमा छ। सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द छन्। बोर्डको पहलले मात्रै पनि ल्याउन सकिँदैन। तर त्यसका लागि केही समय प्रतिक्षा गर्नुहोला। लकडाउन खुलेर अन्तर्राष्ट्रिय उडानहरु सञ्चालनमा आएपछि मात्रै शव ल्याउन सकिन्छ।
मृतकको विदेशमै सदगद गराउँदा मृतकका हकवालाले पाउने बीमा बापतको रकम बीमा कम्पनीहरुले केही रकम कटाएर दिने व्यवस्था छ। यो असामान्य परिस्थितिमा बोर्डले केही सहजीकरण गर्छ?
हामीले बीमा समितिलाई पत्राचार गरिसकेका छौं। यो विषम परिस्थितिमा विदेशमा दाहसंस्कार गरेका मृतकका हकवालाहरुलाई बीमा रकम भुक्तानी दिने बेलामा रकम नकटाई भुक्तानी दिन हामीले बीमा समितिलाई आग्रह गरेका छौं।
यससम्बन्धमा बीमा समितिबाट कस्तो प्रतिक्रिया आएको छ?
बीमा समितिबाट हामीलाई अहिले जबाफ चाहीँ आइसकेको छैन तर मलाई के विश्वास छ भने यस्तो परिस्थितिमा उहाँहरुले सहयोग गर्नुहुन्छ। नभए त्यो रकम भुक्तानी दिने बेलामा पुनः सहजीकरण गरिदिन्छौं। मानवीयताका हिसाबले पनि त्यो रकम काट्न पाइँदैन। मन्त्रालय तहबाट पनि सहजीकरणका लागि पहल गर्न अनुरोध गर्छौं। यसमा समस्या आउँछजस्तो मलाई लाग्दैन।
अर्को कुरा कोरोनाका कारणले विदेशमा आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्यो भन्ने छ, यो साँचो हो?
आत्महत्या गर्ने नेपालीको संख्या बढ्दै गयो भनेर हल्ला बढी फैलाइएको अवस्था छ। अरु सामान्य अवस्थामा पनि विदेशमा आत्महत्याका घटनाहरु भइरहेकै थिए। अहिले विदेशमा रहेका १ सय ४४ शवमा पनि आत्महत्या गर्नेको संख्या कम छ। केहीकेही आत्महत्याका घटनाहरु पनि छन् तर टर्कीमा जस्तै कोरोनाका कारणले आत्महत्या गरेको भन्ने कुरा मलेसियालगायत खाडी मुलुकबाट आएको छैन। अहिले कोरोनाका कारण सबैलाई समस्या परेको अवस्था छ। कोरोनासँग जुध्न आत्मबल बढाउन आवश्यक छ। कोरोनाका कारण कसैले आत्महत्या गर्नुपर्ने स्थिति नआओस् पनि।
विदेशबाट समस्या परेर ठूलो संख्यामा युवाहरु फर्कने अवस्था छ। उनीहरुलाई व्यवस्थापन गर्न बोर्डको तयारी के छ?
विदेशबाट समस्यामा परेर फर्किने युवाहरुलाई पुनर्स्थापना कसरी गर्ने? उनीहरुलाई मनोसामाजिक परामर्शसहितको पुनर्एकीकरण कार्यक्रमलाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा लैजानेगरी कार्यविधिको खाका तयार पारेका छौं। त्यो कार्यविधि मन्त्रालयबाट स्वीकृति भएर आएपछि आगामी आर्थिक वर्षदेखिे त्यो कार्यविधिअनुसार काम सञ्चालन गर्छौं।
विदेशबाट फर्किएका युवाहरुलाई पुनरुत्थानका लागि तयार गरिएको खाकामा समेटिएका मुख्य कुराहरु के-के हुन्?
कार्यक्रम तर्जुमा हुँदैछ। समस्यामा परेर फर्किएका युवाहरुको पुनरुत्थानका लागि व्यापक प्याकेज छ। हामीले विदेशबाट फर्किएका कामदारहरुलाई लक्षित गरेर स्थानीय तहहरुसँग सहकार्य गर्ने व्यवस्था गरेका छौं। स्थानीय तहको सिफारिसका आधारमा कोरोनाका कारण समस्यामा परेर फर्किने कामदारहरुलाई स्वदेशमै उद्यमशीलता विकास गरेर स्वरोजगार सिर्जना गर्ने। विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै परिचालन गर्न के के गर्नुपर्छ‚ त्यो सबै काम गर्न स्थानीय तहसँग सहकार्य गरेर गर्ने भन्ने हिसाबमा कार्यक्रम तर्जुमा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।