काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार नेपाली नेपाली भान्सा महँगो हुने क्रम जारी रहेको देखिएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनाको विवरण अनुसार मूल्यवृद्धि ६.७४ प्रतिशत भएको विवरण सार्वजनिक गरेको हो।
चालु आर्थिक वर्षको चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति (मूल्यवृद्धि)भन्दा बढी हो। अघिल्लो आर्थिक वर्ष चैतमा मूल्यवृद्धि ४.४४ प्रतिशत रहेको थियो। यस आवको चैत महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ९.६८ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८ प्रतिशत रहेको छ। सरकारले लकडाउन गरे पनि खाद्यान्नको भाउ भने आकासिएको हो।
चैत महिनामा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशतले मूल्य बढेको छ। २०७५ चैतमा यी क्षेत्रहरुमा क्रमश: ४.७४ प्रतिशत, ३.९५ प्रतिशत, ४.८० प्रतिशत र ६.२० प्रतिशत मात्रै थियो।
त्यस्तै थोक मुद्रास्फीति तर्फ २०७६ चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.७७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३८ प्रतिशत रहेको थियो। चैत महिनामा उपभोग्य वस्तु, मध्यवर्ती बस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.२० प्रतिशत, ८.४७ प्रतिशत र २.७५ प्रतिशत रहेको छ। यसै महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.७६ प्रतिशतले घटेको छ।
तलब तथा ज्यालादरीतर्फ भने २०७६ चैतमा वार्षिक बिन्दुगत सूचकाङ्क ७.४९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ९.५४ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकाङ्क १३.५५ प्रतिशत र ज्यालादर सूचकांक ५.८६ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।