काठमाडौं- समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रम महामारी केन्द्रित नभएको बताएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले कार्यक्रम अनावश्यक भोलुममा प्रस्तुत गरिएको भन्दै विरोध जनाएका छन्।
मुलुकमा ४ किसिमका संङ्कट देखा परेको बताउँदै त्यसको सम्बोधन यो नीतिले गर्न नसक्ने बताए। उनले भने, 'स्वास्थ्य, मानवीय, आर्थिक र राजनीतिक संङ्कट देखा परेको छ। कसरी पार पाउने स्पष्ट छैन।'
उनले स्वास्थ्य संकटसँग जुध्न न्यून संख्यामा आइसोलेसन वार्ड रहेको तर उपकरण र जनशक्ति अभाव रहेको बताएका छन्। आगामी जुन र जुलाइमा यसले झन् आक्रान्त पार्ने अनुमान गरिएको बताउँदै कसरी व्यवस्थापन गर्ने भन्ने तयारी नभएको भन्दै उनलेआलोचना गरे।
सरकारले तत्कालीन, दीर्घकालीन र मध्यकालीन व्यवस्था गर्नुपर्ने उनले बताए। यतिबेला कोरोना भाइरस रोक्न सरकारले लकडाउन र न्यून परीक्षण मात्रै गरिरहेकको बताए। देशमा कुपोषण र दीर्घरोगी बढेको उनको भनाइ छ।
यसैगरी विदेश र भारतीय सिमानामा हजारौं नेपाली अलपत्र परेको बताउँदै उनले भारतले यता धकेल्ने तर नेपालले यता आउन नदिने गर्दा समस्यमा परेको उल्लेख गरे। विदेशबाट आउने नागरिकलाई कहाँ व्यवस्था गर्ने सरकारको योजना नभएकाले समस्या पर्ने उनको ठहर छ।
राजनीतिक स्थिरता र समृद्धिको नाराले सरकार बनेको पनि नीति तथा कार्यक्रममा त्यो झल्को नपाइएको उल्लेअ गरे। कृषिलाई आधुनिकीकरण गर्ने कुरा हावा भएको बताउँदै गरिबहरु झन् गरिबीतर्फ धकेलिन थालेकोमा चिन्ता व्यक्त गरे।
राजनीतिक रुपमा संघीयता कार्यान्वयन गर्न सरकार उदासिन भएको बताए। प्रदेशको एकल क्षेत्राअधिकार रहेका क्षेत्र समेत संघीय सरकारले हडपेको उनको आरोप छ। उनले भने, 'प्रदेश एकल क्षेत्राधिकार पर्ने सहकारी, कृषि, खानेपानी स्वास्थ्य, शिक्षा, गुठी, बनजंगल केन्द्रीय सरकारले आफैं सञ्चालन गरेर संघीयता धरापमा पारेको छ।'
उनले १८ सय वटा निर्माणाधीन आयोजना अलपत्र परेको बताए। जहाँ १ सय १८ अर्ब लगानी भइसकेकाले सरकारले सोच्नुपर्ने बताए। हुलाकी राजमार्ग दशकौंदेखि अलपत्र परेको बताए। मधेशबाट गुज्रिने भएकाले अलपत्र पारिएको भन्दै व्यंग्य गरे।
समग्रमा नीति हेर्दा सहरमुखी र धनी वर्ग लाभान्वित हुने खालको देखिएको उनको धारणा छ। नीति तथाम कार्यक्रम कार्यकर्ताको पालनपोषण गर्ने र अलमल्याउनेमा केन्द्रित रहेको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।