काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले नीति तथा कार्यक्रमले कोरोनाले पारेका प्रभावमा विस्तृत चर्चा गरेको बताएका छन्।
नीति तथा कार्यक्रम माथि संसदमा भइरहेको छलफलमा उपनेता नेम्वाङले कोरोनाले पारेको प्रभावको अध्ययन हरेक क्षेत्रबाट हुने भएको दाबी गरे। उनले भने,‘कोरोनाको प्रभावलाई सम्वोधन गर्ने नीति तथा कार्यक्रम हुनुपर्छ भन्ने थियो। सम्पूर्ण कुरालाई ध्यान केन्द्रित गरेर आएको छ।’
भेन्टिलेटर र आइसियुमा बिरामी राख्नुपर्ने गरी जटिलता नआएको उनले बताए। अनपेक्षित रुपमा संकट लम्बिने अवस्थामा थप कार्यक्रमको आवश्यकता पर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको उनले सुनाए।
१ नम्बर बुँदादेखि २७६ सम्म पुनर्लेखन गर्नुपर्ने कांग्रेसको प्रस्तावप्रति नेम्बाङले आपत्ति जनाए। नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम पुनर्लेखनको माग गरेका थिए। नेम्बाङ अघि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाको बोली स्मरण गर्दै नेम्बाङले भने,‘नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गर्ने बुँदा त संसोधन गर्न पर्ने रहेनछ।’
रोजगारी गुमाएकालाई विशेष कार्यक्रम सञ्चालन गरिने विषय समेत नीति तथा कार्यक्रममा परेको बताउँदै उनले नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी बजेट आउने उल्लेख गरे।
नेम्वाङले भूकम्पको बेला भारतले गरेको नाकाबन्दी पूर्व एमालेले ‘नाकाबन्दी’ भन्न सकेकोप्रति गर्व गरे। कांग्रेसको नाम नलिई नाकाबन्दी भन्न नसकेको स्मरण गराए। भविष्यमा नाकाबन्दी नलाग्ने उनको दाबी थियो।
कोरोनाले क्षतविक्षत बनाउँदा समेत आर्थिक वृद्धिदर विकसित देशको तुलनाकै रहने दाबी गर्दै उनले आर्थिक वृद्धिदर दुई प्रतिशतभन्दा माथि रहने बताए। सबैलाई निरोगी नेपाल बनाउने विषय महत्वपूर्ण भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।