काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार साँझ सार्वजनिक विवरणमा दाङ तुलसीपुर-७ का भनिएका कोरोना संक्रमित शिक्षण अस्पतालका कर्मचारी रहेको पाइएको छ।
उनको स्थायी ठेगाना तुलसीपुर ७ भएपनि उनको कार्यस्थल उक्त अस्पताल र बसोबास काठमाडौं नै रहेको पाइएको हो। शिक्षण अस्पतालमा कार्यरत उनलाई बिरामीको उपचार गर्ने क्रममा कोरोना संक्रमण भएको अनुमान गरिएको छ। यसअघि अस्पतालमै उपचाररत एक ७ वर्षीया बालिकामा कोरोना संक्रमण भेटिएको थियो।
ती बालिकामा संक्रमण भेटिएपछि उनको सम्पर्कमा आएका शिक्षण अस्पतालका कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा एक जनाको पोजेटिभ देखिएको हो।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले पनि हाल त्यहाँ रहेका व्यक्ति नभई काठमाडौंकै अस्पतालमा कार्यरत कर्मचारी रहेको बताएका छन्। स्वास्थ्य मन्त्रालयको गलत सूचनाबाट स्थानीय त्रसित भएपछि मेयर पाण्डेले फेसबुकमार्फत् यस्तो सूचना सार्वजनिक गरेका हुन्।

नोट: स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको गलत विवरणका आधारमा शुक्रबार राती यो समाचार प्रकाशित गर्दा अन्यथा हुन गएकोमा क्षमा चाहन्छौं। भएको के थियो? यो समाचार पढ्नुहोस् : स्वास्थ्य मन्त्रालयको त्रुटिले शिक्षण अस्पताल र तुलसीपुरमा फैलिएको त्रास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।