काठमाडौं - प्रतिनिधि सभामा केही सांसदले बोल्न नपाएपछि केहीबेर बैठक अबरुद्ध गरेका छन्। प्रि–बजेटमाथिको छलफलमा बोल्ने समय नपाएको भन्दै सांसदहरुले विरोध गरेका हुन्।
दलीय आधारमा दिइएको नामलाई कार्यव्यवस्थाले बोल्ने समय दिएको थियो। सांसदहरुले बोल्ने समय समाप्त भएको घोषणा सभामुख अग्नी सापकोटाले गरेलगत्तै आफ्नो पालो नआएको भन्दै केही सांसदले उठेर बादप्रतिबाद गरे ।
सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकतामा दिएका सुझाव र प्रश्नहरुको बारेमा जवाफ दिन अर्थमन्त्री युवराज खतिवडालाई बोल्न समय दिएपछि सत्तापक्ष र प्रतिपक्ष दलका केही सांसदहरुले बिरोध जनाए। सत्तापक्षकै सांसद गंगा चौधरी सत्गैयाले बोल्नन पाएको भन्दै समय माग गरिन् । उनीसँगै अन्य केही सांसदहरुले पनि आफूहरुले बोल्न नपाई अर्थमन्त्रीको जवाफ आउन लागेको भन्दै बिरोध जनाए ।
समय सकिसकेकाले थप गर्न नसकिने भन्दै सभामुख सापकोटाले बस्न आग्रह गरे । सभामुखको आग्रहलाई उनीहरु बेवास्ता गर्दै केही समय बादप्रतिबाद भयो। सभामुख सापकोटले पुन: दलहरुले दिएको नामका आधारमा समय दिएकाले विवाद नगर्न भनेपछि अर्थमन्त्री खतिवडालाई समय दिएपछि उनीहरु शान्त भए।
सोमबार देखि प्रतिनिधि सभामा प्रिबजेट छलफल चलिरहेको छ । जेठ २ गते सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवि भण्डारीले प्रस्तुत गर्नुपर्ने भएकाले सभामुख सापकोटले आज प्रिबजेट छलफल सक्ने तयारी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।