धनगढी– सुनिल धमला र रोहन मुस्तफाले अर्धशतक बताएपछि धनगढी प्रिमियर लिग(डिपिएल) को उपाधिका लागि धनगढी टिम चौराहाले काठमाडौं गोल्डनस्लाई १ सय ८२ रनको लक्ष्य दिएको छ। संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा मा टस जितेर ब्याटिङ रोजेको धनगढीले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको हो।
टिमको स्कोर १२ रन रहेको अवस्थामा धनगढीले अस्फाक अहमदको रुपमा पहिलो विकेट गुमाएको थियो। तर तेस्रो नम्बरमा मैदान छिरेका रोहन मुस्तफाले प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलालाई राम्रो साथ दिँदै दोस्रो विकेटका लागि १ सय ४२ रनको साझेदारी गरे। जारी प्रतियोगितामा कुनै पनि विकेटका लागि यो सबैभन्दा ठुलो रनको साझेदारी हो।
खेल सकिन ४ बल बाँकि रहँदा आउट भएका सुनिलले ६३ बलमा सर्वाधिक ७८ रनको योगदान दिएका थिए। उनको पारीमा ८ चौका र ३ छक्का सामेल थियो। उता मुस्तफाले भने समान ४ चौका र ४ छक्काको मदतले ६० रन जोडे।
सोमपाल कामी ८ रन र राजेश पुलामी मगर शून्य रनमा नटआउट रहे।
काठमाडौंका लागि सुबोथ भाटीले २ विकेट हात पारे। अठारौं ओभरको पहिलो बलमा मुस्तफालाई रन आउट गराएका भाटीले सोहि ओभरको तेस्रो बलमा नै सोनु तामाङ(शून्य रन)लाई बोल्ड गर्दे पेवेलियनको बाटो देखाए। भाटीले नै धमलालाई अन्तिम ओभरमा नरेश बुढाएरको हातबाट क्याच आउट गराएका थिए। काठमाडौंका लागि पहिलो विकेट सन्नी पटेलको नाममा रह्यो।
प्रतियोगिताको विजेताले २५ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।